झापामा जेठ २७-२८ मा राष्ट्रिय कराँते प्रतियोगिता
Published: (Updated: )
by .बिर्तामोड । झापामा प्रथम मदन भण्डारी राष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ । मदन भण्डारी स्पोर्टस् एकेडेमी केन्द्रीय समितिले प्रतियोगिताको आयोजनाा गरेको हो ।
प्रतियोगिता यही जेठ २७ र २८ गते बिर्तामोडमा हुने एकेडेमीका उपमहासचिव तथा पूर्वप्रमुख कराते प्रशिक्षक मदन उप्रेतीले जानकारी दिए । आज बुधबार बिर्तामोडमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी दिइएको हो ।
प्रतियोगितामा आठवटा टिमको सहभागिता रहने सो अवसरमा जानकारी दिइयो । आयोजकको एउटा तथा सात प्रदेशका टिम प्रतियोगितामा सहभागी हुनेछन् । त्यस्तै, महिलाहरुको ९ इभेन्ट र पुरुषहरुको १० इभेन्ट गरी १९ वटा इभेन्टमा खेल हुने एकेडेमीका कोशी प्रदेश इन्चार्ज तथा केन्द्रीय उपाध्यक्ष तुलसी मैनालीले बताए ।
प्रतियोगितामा कातासहित महिलातर्फ ४० केजी, ४५ केजी, ५० केजी, ५५ केजी, ६० केजी र ६१ केजीभन्दा माथिका इभेन्ट हुने छन् ।
त्यस्तै पुरुषतर्फ कातासहित ४५ केजी, ५० केजी, ५५ केजी, ६० केजी, ६७ केजी, ७५ केजी र ७५ केजीभन्दा माथिका इभेन्ट हुनेछन् ।प्रतियोगितामा प्रत्येक इभेन्टको स्वर्ण पदक प्राप्त गर्ने खेलाडीले नगद १० हजार, रजत पदकले ७ हजार र कास्य पदक पाउने खेलाडीले ४ हजार, मेडल तथा प्रमाणपत्र पाउने छन् ।
त्यस्तै, उत्कृष्ट एक महिला र एक पुरुष तथा प्रथम, दोस्रो र तेस्रो हुने टिमलाई ट्रफी प्रदान गरिने उप्रेतीले बताए ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिता सम्पन्न गर्न २० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगितामा खेलाडी तथा अफिसियल गरी २०० जनाको सहभागिता रहने मैनालीले बताए ।
Comments