एनआईसी एशिया बैंकबाट बचतकर्ताको १३ लाख १७ हजार ३०० रुपैयाँ गायब
Published:
by .भद्रपुर । भद्रपुरस्थित जगदम्बा टी प्रोसेसिङ प्रालिको बैंक खाताबाट २०८० असार ५ गतेदेखि असार ११ गतेसम्मको अवधिमा पटक पटक गरी १३ लाख १७ हजार ३०० रुपैयाँ गायब भएको छ ।
‘बैङ्क पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने स्लोगानसहित सञ्चालित नेपालकै ठूलो वित्तीय कारोबार हुने एनआईसी एसिया बैङ्कको चन्द्रगढी शाखाबाट उक्त रकम गायब भएको हो ।
जगदम्बा टी प्रोसेसिङ प्रालिको नाममा रहेको एनआईसी एशिया बैङ्कको खाता नम्बर ६७४१४९९५३७५२४००१ बाट डिजिटल पेमेन्ट गेटवेको माध्यमबाट एक हप्ताको अवधिमा रकम गायव भएको बैंक स्टेटमेन्टबाट थाहा भएको हो ।
जगदम्बा टी प्रोसेसिङ प्रालिका सञ्चालक भक्तप्रसाद अधिकारीले यो घटनापछि बैंकप्रति नै वितृष्ण उब्जेको बताएका छन् । अधिकारीले भने, ‘प्रोसेसिङको नाममा रहेको खाताबाट डिजिटल माध्यम प्रयोग गरेर अनाधिकृत रूपमा रकम झिकेको देखिन्छ । आफ्नो खातामा जम्मा रहेको रकम बैङ्कबाट नै गायब हुँदा अब बैङ्कमा राख्दा रकम सुरक्षित हुन्छ भन्ने विश्वास नै अब रहेन ।’
बैङ्कमा राखिएको रकम नै गायब भएको प्रति आपत्ति प्रकट गर्दै अधिकारीले भने, ‘बैङ्कबाटै रकम गायब भएको घटनाको अनुसन्धान लागि साइवर क्राइम अपराध अन्तर्गत छानबिन गर्न झापा प्रहरी मार्फत सिआइबीमा पनि उजुरी दिइसकेका छौँ ।’
अपराध गर्ने समूहलाई कानुनी कारबाही गर्ने पाटो एउटा भए पनि बैङ्कमा रहेको रकम गायब भएको विषयको जबाफदेही र जिम्मेवारी स्वयम बैङ्क सञ्चालकले लिनुपर्ने उनको भनाई छ ।
जगदम्बाले सञ्चालन गरेको उक्त खाताको प्रकृति अनुसार न्यूनतम १० हजार रुपैयाँ मौज्दात रहँदामात्र कारोबार गर्न पाइन्छ । तर न्यूनतम रकमसमेत नराखेर ८६० रुपैयाँ १८ पैसा मात्र बचत देखिन्छ। यसले पनि उक्त घटनामा बैङ्क सम्बद्ध कर्मचारीहरुको पनि संलग्नता आशंका गर्ने ठाउँ बनेको छ । उनले भने ‘यसो हुनुमा बैङ्क कर्मचारी र कमजोर बैङ्क प्रविधि दोषी छन् ।’
बैङ्कबाट लगभग हप्ता दिनको अन्तरालमा पटक पटक गरेर बढीमा ५० हजार र घटीमा १०० गरी ३० पटकको प्रयासमा सो रकम झिकेको जगदम्बाको बैङ्क स्टेटमेन्टबाट देखिन्छ ।
सामान्यतया एक पटक रकम झिकेपछि एकदेखि डेढ मिनेटमा मात्रै अर्को ओटिपि नम्बर आउने भए पनि धेरैजसो ३५ सेकेन्डकै अन्तरमा विभिन्न कम्पनीका नाममा रकम ट्रान्सफर गरेर रकम झिकेको भेटिएको छ। रकम झिक्दा मोबाइल बैङ्किङ मार्फत म्यासेज आउने गरे पनि यो रकम झिक्दा कम्पनीको आधिकारिक मोबाइलमा कुनै म्यासेज वा सूचना नआएको र एकै पटक हप्ता दिनमा रकम चेक गर्दा मात्रै खाताबाट रकम गायब भएको थाहा पाएको प्रोसेसिङका लेखा कर्मचारी कमल निरौलाले जानकारी दिए ।
सो घटनाको वास्तविकता अनुसन्धान गर्न बुधबार जिल्ला प्रहरी कार्यालय झापाले उपत्यका अपराध अनुसन्धानमा पत्राचार गरिसकेको पत्र पनि कम्पनीका सञ्चालक अधिकारीले देखाएका छन् ।
Comments