डेंगु नियन्त्रणका लागि मेचीनगरमा अभियान सुरु
Published: (Updated: )
by .मेचीनगर । मेचीनगरका केही वडाहरुमा डेंगु संक्रमण दर उच्च भएपछि नगरपालिकासहित ती वडाहरुमा चेतना अभियान सुरुभएको छ ।
डेंगुबाट जोगिने उपाय, त्यसका लक्षण तथा उपचारबारे वृत्तचित्र देखाउने, रोग सार्ने लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने, विषादी छिट्ने लगायतका काम शुरु गरेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
शाखाले नगरको वडानम्बर ३ को तेलपानी क्षेत्र, १० को धुलावारी क्षेत्र, १२ को माथिल्लो धाइजन क्षेत्र तथा १३ को चारआली आसपास क्षेत्रमा रोग सार्ने लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन गरेको स्वास्थ्य शाखा संयोजक शशीकला राईले जानकारी दिईन् । धमाधम रोगी फेला परेपछि मात्रै सतर्कता शुरु गर्दा रोगी संख्या लगातार बढिरहने भएकाले बेलैमा यस्तो अभियान सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।
‘नगरपालिकाको स्वास्थ्य शाखाबाट खटिएको टोलीले काम थालिसकेको छ’, संयोजक राईले भनिन—‘हामीले ज्यादै तीव्र गतिमा प्रभावित क्षेत्रमा काम थालेका छौं ।’ नगरपालिकाको यी वडाहरु डेंगुको उच्च जोखिममा रहेकाले पहिलो चरणमा यी वडाहरुमा अभियान सञ्चालन गरिएको स्वास्थ्य शाखाका सह संयोजक रामनारायण यादवले बताए । उनका अनुसार यी वडाहरुमा केही वर्ष अघि डेंगु ज्वरोका संक्रमित फेला परेका थिए ।
जनस्वास्थ्य कार्यालय झापाका भेक्टर कन्ट्रोलर सुपरभाइजर जीवन चौलागाईँ डेंगु रोग उपचारमा भन्दा पनि जनचेतनामूलक अभियानबाटै निर्मुल पार्नु बढी प्रभावकारी हुने बताउछन् । उनका अनुसार हरेक वर्ष झापामा वर्षा सकिने बित्तिकै डेंगुका रोगी बढ्ने गर्छन् । झापाका मेचीनगर, विर्तामोड, दमक नगरपालिका डेंगुको उच्च जोखिममा रहेका छन् । वर्षा सकिएपछि विभिन्न ठाउँमा पानी जमेको हुन्छ । त्यस्तो ठाउँमा लामखुट्टेले फुल पार्ने गर्छ । त्यही लामखुट्टे (एडिस एजिप्टाई, पोथी)ले रोग सार्छ ।
असोज र कात्तिक महिनामा यस्तो संक्रमणको खतरा बढ्ने उनले बताए । यद्यपि जोखिम मंसिर मध्यसम्म कायमै रहने स्वास्थ्यकर्मी समेत यादव बताउँछन् । लामो समयदेखि जमेको पानीमा, पानीको ट्याङकी, एसी, गमला, टायर, ड्रम, प्लाष्टिक, कन्टेनरमा एकहप्ता वा त्यसभन्दा बढी समयसम्म पानी जम्यो भने लामखुट्टेले बासस्थान बनाएर फुल पार्छ । स्वास्थ्यकर्मीहरुको टोलीले त्यस्तै ठाउँको खोजी गरी लामखुट्टेको वासस्थान, लार्भा खोजेर नष्ट गर्ने गरेको यादवले बताए । उक्त लामखुट्टे २० देखि ३० डिग्री सेल्सियस तापक्रममा बढी सक्रिय हुने गर्छ ।
डेंगुका विरामीमा ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, जिउ दुख्ने, शरीरमा विमिरा आउने, वाक–वाकी लाग्ने, नाकबाट रगत आउने, दिसा कालो आउने जस्ता लक्षण देखा पर्ने स्वास्थ्यकर्मीहरु बताउँछन् । एक्कासी उच्च ज्वरो आउनु यो रोगको मुख्य लक्षण रहेको स्वास्थ्यकर्मीहरुको भनाई छ । साथै यसरी आएको ज्वरो ५ देखि ७ दिनसम्म रहनु हाड, जोर्नी तथा मांशपेशीहरु दुख्नेलगायत डेंगु ज्वरोको मुख्य लक्षण हुन् । धेरै ज्वरो आउनुको साथै माथि उल्लेखित लक्षणहरु मध्ये दुई वा दुई भन्दा बढी लक्षणहरु देखा परेमा डेंगु ज्वरो आएको शंका गर्नु पर्दछ । यी लक्षण बाहेक पनि डेंगु ज्वरो आएको अवस्थामा वाकवाकी लाग्ने, वान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने, शरीरमा नीलडाम देखापर्ने तथा वेहोस वा अचेत समेत हुने लक्षण देखा पर्दछ ।
याम परिवर्तनसँगै लामखुट्टेको टोकाई बढ्ने गर्छ । एउटा लामखुट्टेले ५ जनासम्मलाई रोग सार्ने गर्छ । डेंगुको विषाणु भाइरसद्वारा संक्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्छ । गाउँमा भन्दा सहरमा यो लामखुट्टे प्रशस्त पाइने गरेको चौलागाईँको भनाई छ ।
डेंगु ज्वरो विषाणुको कारणबाट लाग्ने भएकाले यसको वास्तविक रुपमा कुनै किसिमको उपचार छैन् । तर, विरामीमा देखिएका लक्षण अनुसारको उपचार गर्नै गरिन्छ । ज्वरो घटाउन सिटामोल र प्रशस्त मात्रामा झोल पदार्थ पिउनु पर्दछ । त्यसैले यस्ता लक्ष्णहरु कुनै पनि व्यक्तिमा देखा पर्ने वित्तिकै डेंगु ज्वरो हुने जटिलताबाट बचाउन तुरुन्त स्वास्थ्य संस्थामा उपचारका लागि जानु पर्दछ ।
स्वास्थ्य संयोजक राईले यो रोगबाट बच्ने उपाय यसका जोखिमका बारेमा समेत सहभागी सवैलाई प्रष्ट पारेका थिए । लामखुट्टेको टोकाइबाट बच्ने, लामखुट्टेको बृद्धि र विकासमा नियन्त्रण गर्ने, घर आँगन, लार्भा नष्ट गर्ने , कौसीको हरहमेशा सरसफाइ गर्ने, र पानी जम्न नदिने, टिनका खाली डिब्बाहरु, रंगका खाली डब्बाहरु, टायर, ट्यूव, खाली ड्रमहरुमा पानी जम्न नदिने, पानीको नाली ढल, पोखरी आदिमा हप्ताको २ पटक डढेको मोविल मट्टितेल छर्किने, खानेपानी ट्याँकी राम्ररी ढकन लगाएर राख्न सके डेंगु ज्वरोबाट बच्न सकिने बताईन् ।
Comments