खेलकुदको क्षेत्रमा लगानी बढाउन प्रदेश सांसद मैनालीको आग्रह
Published:
by .मेचीनगर । एक नम्बर प्रदेशसभाका सदस्य श्रीप्रसाद मैनालीले स्वास्थ्य र शिक्षाका क्षेत्रमा राज्यले जसरी लगानी गरेको छ सोही अनुपातमा अब खेलकुदमा लगानी बढाउनुपर्ने आवश्यकता औंल्याएका छन् ।
युवा तथा खेलकुद मन्त्रालयले बुधबार काँकरभिट्मा आयोजना गरेको १ नम्बर प्रदेश स्तरीय अन्तर्राष्ट्रिय पदक प्राप्त फुटबल खेलका जुनियर खेलाडीहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै मैनालीले उक्त कुरा बताएका हुन् ।
मुलुकमा तीनै तहको निर्वाचन सम्पन्न भई सरकारसमेत गठन भएकाले सरकारले खेलाडीहरुलाई उच्च मनोबलका साथ खेलाडीहरुको कौशल प्रस्तुत गर्ने वातावरण तयार गर्नुपर्नेमा मैनालीले जोड दिएका हुन् ।
एकजना खेलाडीले प्रस्तुत गरेको कौशलले जीत दिलाए पछि नेपालको नाम विश्वमै चर्चित हुन्छ, यसकारण पनि खेलाडीहरु देशका गहना भएका र उनीहरुको आवश्यकता सम्बोधन गर्नु राज्यको दायित्व भएको मैनालीले प्रष्ट पारे ।
प्रत्येक खेलाडीले राज्यलाई दिएको योगदानको कदर स्वरुप प्रत्येक स्थानीय तहले आफ्ना क्षेत्रका खेलाडीहरुको पहिचान गरी मासिकरुपमा व्यवहार चलाउन सक्ने भत्ताको व्यवस्था गर्नु पर्ने प्रदेश सभा सदस्य मैनालीको भनाई थियो ।
युवा तथा खेलकुद मन्त्रालयका सहसचिव अरुणप्रसाद न्यौपानेले अन्तर्राष्ट्रिय पदक प्राप्त खेलाडी र अहिलेका नयाँ पुस्ताका खेलाडीबीच कसरी राज्यलाई पदक दिलाउन सकिन्छ भन्ने कुरा प्रष्ट हुने पर्ने बताए ।
उनले खेलकुदलाई कसरी अघि बढाउने, पदक प्राप्त गर्न कस्ता खेलाडी उत्पादन गर्ने र खेलकुदका समस्या आए कसरी समाधान गर्ने विषयमा छलफल गरेर अघि बन्नुपर्ने जानकारी दिए ।
जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्ष शंकर थापाको अध्यक्षतामा भएको कार्यक्रममा उनले अहिले पनि झापा जिल्ला विभिन्न खेलकुदका प्रशिक्षकविहीन बनेको दुःखेसो व्यक्त गरे ।
अन्तर्राष्ट्रिय पदक प्राप्त खेलाडीहरु इलामका नवयुग श्रेष्ठ र महिला खेलाडी रौतहटकी अनु लामासँंग जुनियर खेलाडीहरुले अन्तरक्रिया गरेका थिए ।
कार्यक्रममामा पूर्वका झापासहित मोरङ्ग, सुनसरी, धनकुटा, इलाम र उदयपुर ६ जिल्लाका जुनियर खेलाडी र अफिसियल गरी ४० जनाले भाग लिएका थिए ।
Comments