Sajhamanch Archive

सहकारी समाजको गतिलो खम्बा : अध्यक्ष ढकाल

Published: in समाज, सहकारी by .

बिर्तामोड । धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्थाको ११औं वार्षिक साधारणसभा आज सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष कृष्ण पौडेलको अध्यक्षतामा सञ्चालन गरिएको साधारणसभाको उद्घाटन झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालले द्विप प्रज्जवलन गरी गरेका थिए ।

२०६४ सालमा स्थापना भएको धौलागिरी बचत तथा ऋण सहकारी र २०६१ सालमा स्थापना भएको पारिजात विद्युत् उपभोक्ता सहकारी संस्थाबीच २०७२ सालमा एकीकरण भएर धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्था बनेको सो अवसरमा जानकारी गराइयो ।
३२ जना सदस्यले शेयर जम्मा गरी स्थापना भएको सहकारी संस्थामा हाल तीन हजार ९०० जना सदस्यहरु रहेको प्रतिवेदनमा उल्लेख छ । चालु वर्ष १५ सयजना नयाँ सदस्य थप्ने योजना बनाइएको संस्थाका सचिव युवराज ढकालले बताए ।

साधारणसभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष पौडेलले हाल संस्थाको शेयर पूँजी २ करोड ५४ लाख १५ हजार ८०० रुपैयाँ रहेको बताए । त्यस्तै निक्षेपतर्फ १० करोड ११ लाख ६४ हजार ५६५ रुपैयाँ र कोषमा १ करोड २२ लाख ८ हजार ३६ रुपैयाँ रहेको उल्लेख छ । संस्थाले १५ लाख २८ हजार ८१५ रुपैयाँ बाह्य ऋण लिएको सञ्चालक समितिको प्रतिवेदनमा उल्लेख छ ।

संस्थाले यस वर्षदेखि उत्कृष्ट कर्मचारी दम्पत्ती पुरस्कार वितरण गरेको छ । यो वर्ष संस्थाका कर्मचारी राजकुमार श्रेष्ठ र दीपा श्रेष्ठ दम्पत्ती पुरस्कृत भएका छन् । त्यस्तै सामाजिक व्यक्तित्वमा बिर्तामोडका रामबहादुर दाहाल, ज्येष्ठ नागरिकमा बुद्धशान्तिका धनवीर राईलाई सम्मान गरिएको छ ।

बाल बचतमा तीनजना, क्रमिक बचतमा ११ जना, साधारण बचतमा तीन जना, ऋण लिएर उद्योग गर्ने तीनजना सदस्य पनि सम्मानित भएका छन् ।

सो अवसरमा प्रमुख अतिथि जिल्ला सहकारी संघका अध्यक्ष ढकालले धौलागिरी पारिजात सहकारी छुट्टै बहुआयामिक क्षेत्रमा अगाडि बढेकोमा सराहना व्यक्त गरे । सहकारीका सदस्यले उद्यमशीलता मात्र नखोजेर बचतलाई पनि बृद्धि गरेर अगाडि बढ्न आग्रह गर्दै वर्तमान अवस्थामा सहकारी समाजको गतिलो खम्बा भएकाले हरेक व्यक्ति एउटा सहकारीमा आवद्ध रहन आग्रह गरे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *