कर्णाली साकोसको १९ औं वार्षिकोत्सव : २०० जना सम्मनित भए
Published: (Updated: )
by .झापा । बिर्तामोडमा मुख्य कार्यालय रही जिल्लाभर कार्यक्षेत्र रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाको १९औं स्थापना दिवस तथा वार्षिकोत्सव समारोह आज सम्पन्न गरिएको छ ।
संस्थाका अध्यक्ष टसबहादुर प्रधानको अध्यक्षतामा बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीलाई प्रमुख आतिथि बनाएर गरिएको वार्षिकोत्सव समारोहमा आमन्त्रित अतिथिहरु तथा सहभागी शेयर सदस्यहरुलाई उपाध्यक्ष इश्वरीप्रसाद खरेलले शब्दद्वारा स्वागत गरेका थिए ।
सम्भवतः सहकारी क्षेत्रमै पहिलो पटक कर्णाली साकोसले आफ्ना शेयर सदस्यका छोराछोरीमध्ये ८ जना मेघावी छात्रछात्रालाई ५० हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरेको छ । प्राविधिक विषय अध्ययन गर्ने ११ र १२ कक्षाका ४ जना र स्नातक तहका ४ जना मेधावी छात्रछात्राले छात्रवृत्ति पाएका हुन् । दुईजना विद्याथीको अंक बराबर आएकाले छात्रवृत्ति रकम आधाआधा बाँडिएको जनाइएको छ ।
वार्षिकोत्सवमा उत्कृष्ट कारोबारी गर्ने १६ जना शेयर सदस्यलाई नगद एक हजार रुपैयाँ पुरस्कृत गरिएको छ भने संस्थाका लघुवित्त केन्द्रमध्ये ६ वटा उत्कृष्ट छनोट गरी हरेकलाई ३ हजार रुपैयाँका दरले पुरस्कृत गरिएको छ ।
वार्षिकोत्सवमा सदस्यहरुलाई सम्मान र पुरस्कार प्रदानसहित सांस्कृतिक प्रस्तुति गरिएको थियो । संस्थाको केन्द्रीय कार्यालयका अनुगमन विभाग प्रमुख लक्ष्मी भट्टराईले सञ्चालन गरेको कार्यक्रममा संस्थासँग सम्बन्धित २०० जना हाराहारीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ ।
संस्थाको स्थापनाकालदेखि हालसम्म निरन्तर वित्तीय कारोबार गर्ने २५ जना शेयर सदस्यहरुलाई नगद एक हजार रुपैयाँसहित दोसल्ला ओडाएर सम्मान गरिएको छ भने संस्थामा आवद्ध रहेका ९५ जना ज्येष्ठ नागरिकलाई नगद १२०० रुपैयाँ सहित दोसल्ला ओडाएर सम्मान गरिएको छ ।
बिर्तामोड क्षेत्रका विभिन्न वित्तीय संस्था तथा सहकारी अभियन्ताहरुसमेतको आतिथ्यमा आयोजित वार्षिकोत्सवमा रक्तदान कार्यक्रम पनि गरिएको छ । वार्षिकोत्सव समारोहमा २ जना उद्यमशील सेयर सदस्यलाई नगद एक हजार रुपैयाँसहित सम्मान गरिएको छ ।
कार्यक्रममा उद्घाटन मन्तब्य राख्दै बिर्तामोडका नगरप्रमुख शिवाकोटीले विश्वकै अधिकांश मानिसहरु सहकारी अभियानमा लागेर धनी बनेका उदाहरण सुनाउनु भयो । कर्णालीका सदस्यहरु २८ हजार हाराहारी भएकाले संस्था र यसका सदस्यहरु शक्तिशाली र धनी भएका भन्दै नगरप्रमुख शिवाकोटीले भनेका छन्, अब तपाईंहरु एकजुट भइसक्नु भयो, अब तपाईंको शक्तिका पछि आँधीहुरी पनि डराउँछ भनी प्रशंसा गरे ।
कार्यक्रममा बोलाएर खादा ओडाउने, ब्याच बनाउने र बाँड्ने कार्यशैली सबैले रोक्न्स् भन्दै नगरप्रमुख शिवाकोटीले दिनदुखीहरुको सेवामा लाग्नुस्, फलिफाप हुन्छ भन्ने सन्देश पनि प्रवाह गरे ।
Comments