राष्ट्रिय सहकारी बैंकमा नयाँ नेतृत्व (को को भए विजयी, सूचिसहित)
Published: (Updated: )
by .काठमाडौं । राष्ट्रिय सहकारी बैंकमा नयाँ नेतृत्व चयन भएको छ । पुस २१ र २२ गते भएको १५औं वार्षिक साधारणसभाले चार वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको हो ।
निर्वाचन समितिका अनुसार अध्यक्ष, कर्णाली प्रदेश र खुला सदस्यमा निर्वाचन भएको हो भने अन्य सञ्चालकहरु निर्विरोध निर्वाचित भएका हुन् ।
बैंकको अध्यक्ष, खुला सञ्चालक चार, सातजना प्रदेश सञ्चालक र ३३ प्रतिशत महिला सञ्चालक र तीन जनाको लेखा समितिमा नयाँ नेतृत्व आएको हो ।
राष्ट्रिय सहकारी बैंकको अध्यक्षमा केबी उप्रेती निर्वाचित भएका छन् । उप्रेतीले आफ्ना प्रतिष्पर्धी रमेश घिमिरेलाई भारी मतले पछि पार्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
उप्रेतीले तीन हजार ४१५ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिष्पर्धी घिमिरेले २३६ मत ल्याए । त्यस्तै कर्णाली प्रदेश सञ्चालकमा भएको निर्वाचनमा हरिहरनाथ योगी निर्वाचित भए । उनले तीन हजार २४९ मत ल्याई विजयी भए भने उनका प्रतिष्पर्धी भीमकुमार भण्डारीले ५१० मत ल्याए ।
चार जनाका लागि भएको खुलातर्फको निर्वाचनमा केदार मानन्धर, ध्रुववनारायण यादव, रामहरि बजगाई र माधवलाल देवकोटा निर्वाचित भए । मानन्धरले तीन हजार ४१३, यादवले तीन हजार १४३, बजगाईले तीन हजार ३०२ र देवकोटाले तीन हजार ९८ मत ल्याई विजयी भएका हुन् ।
बैंकका २२ पदमध्ये अन्य पदका उम्मेदवारहरु निर्विरोध निर्वाचित भए । निर्वाचन समितिका अनुसार बैंकको सञ्चालकमा प्रदेश १ बाट सहारा नेपालका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरी, प्रदेश २ बाट विश्वनाथ मण्डल, प्रदेश ३ मा ज्ञानबहादुर तामाङ, गण्डकी प्रदेशबाट रामबहादुर जिसी, प्रदेश ५ बाट विजया धिताल, सुदूरपश्चिमबाट शिवा थापा निर्वाचित भए ।
महिला सञ्चालकतर्फ सरिता तिम्सिना भट्टराई, पार्वती थापा मगर, अमृता सुब्बा निर्वाचित भए ।
यस्तै बैंकको लेखा सुपरीवेक्षण समितिको संयोजकमा एनएमसीका उपाध्यक्ष तथा कार्यकारी प्रमुख लक्ष्मीप्रसाद उप्रेती, सदस्यमा तारा गुरुङ र शिवराज दवाडी निर्वाचित भए ।
बैंकको निर्वाचनका लागि विद्युतीय मेशिन प्रयोग गरिएको थियो । मेशिनका माध्यमबाट मतदान र मतगणनामा छिटो र सजिलो भएको थियो ।
Comments