Sajhamanch Archive

संयुक्त जनकल्याण सहकारीको नाफा ३५ हजार

Published: in सहकारी by .

भद्रपुर । ‘कृषि सहकारीको चाहना, विषादीरहित तरकारी र खाना’ भन्ने नारा आत्मसात गर्दै थोरै थोरै पूँजी संकलन गरी भद्रपुर ३ को आँपगाछीमा सञ्चालित संयुक्त जनकल्याण कृषि सहकारी संस्थाले आ. व. ०७४÷०७५ मा ३५ हजार २३२ रुपैयाँ नाफा कमाउन सफल भएको छ ।

शनिबार भद्रपुर–४ लक्ष्मीनगरस्थित सामुदायिक भवनमा आयोजित संस्थाको पाँचौं वार्षिक साधारणसभामा अध्यक्ष टंकबहादुर पाण्डेले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्था यस वर्ष पनि कमाउन सफल भएको बताए ।

उनकै अध्यक्षतामा ओाजित साधारणसभाको उद्घाटन प्रमुख अतिथि भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले गरेका थिए । संस्थाका व्यवस्थापक राजेन्द्र श्रेष्ठले सञ्चालन गरेको साधारणसभामा अध्यक्ष पाण्डेद्वारा प्रस्तुत प्रतिवेदन अनुसार आ. व. ०७४÷०७५ को अन्त्यसम्ममा संस्थाको शेयर पूँजी ८ लाख ५३ हजार आठसय रुपैयाँ पुगेको छ भने विभिन्न १२ वटा समुदायमा ४४९ सदस्य आबद्ध भइसकेका छन् । त्यसमा महिलाको संख्या ३३४ छ भने पुरुष ११५ रहेका छन् । संस्थाले हालसम्म ५२ लाख तीन हजार ३५८ रुपैयाँ निक्षेप संकलन गरेको छ भने २४५ जना सदस्य माझ ६४ लाख ८२ हजार पचास रुपैयाँ ऋण लगानी गरेको छ ।

बीउबीजन उत्पादन तथा वचत–ऋणको कारोबार गर्ने उद्देश्यले ०६९ मा स्थापित सो सहकारी संस्थाले सदस्यहरु माझ कृषिसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको व्यवस्थापक श्रेष्ठले जानकारी दिए । ०६२ सालमा तत्कालीन जिल्ला विकास समितिको स्थानीय विकास कोषअन्तर्गत समूहहरु गठन भई सञ्चालित वचत कार्यक्रम नै सहकारी संस्थामा रुपान्तरण भएको हो । विभिन्न किसिमका आयमूलक कार्यक्रमबाट गरिबी निवारणमा टेवा पुर्याउने उद्देश्यले युएनडीपीले जिविसमार्फत लगानी गरेको थियो । स्थानीय सामुदायिक विकास कोषबाट समूहलाई ८ लाख ६५ हजार पाँचसय उपलब्ध भएको थियो । पछि, युएनडीपीले कार्यक्रमबाट हात झिकेपछि समूह सहकारीमा रुपान्तरण भएको हो ।

संस्थाले यस वर्ष वित्तीय कारोबार गर्नेक्रममा विभिन्न विधामा उत्कृष्ट छनोट गरी सम्मान पनि गरेको छ । कार्यक्रममा उत्कृष्ट बालवचततर्फ श्रीजंगा समुदायकी आयुष्मा तिम्सिना र निशान प्रसाईंलाई पुरस्कृत गरियो भने उत्कृष्ट वचतकर्तातर्फ मखमली समुदायका लुखी सोरेन र ताला बेस्रालाई सम्मान गरियो । यस वर्ष संस्थाकी पूर्व अध्यक्ष दिलकुमारी राईलाई कुशल उद्यमीको रुमा सम्मान गरिएको थियो । उनीहरुलाई प्रमुख अतिथि भद्रपुर नगरप्रमुख श्रेष्ठले सममान गरे ।

साधारणसभामा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि श्रेष्ठले कृषिबाटै खाद्यान्नमा आत्मनिर्भर बन्न सकिने समृद्धि हासिल गर्न सकिने बताउँदै त्यसको उपयुक्त माध्यम सहकारी संस्था बन्न सक्ने बताए । उनले सो संस्थामा आबद्ध सबै सदस्यलाई कम्तिमा कृषि वस्तुमा आत्मनिर्भर बन्नसक्ने गरी काम गर्न आग्रह गरे । नगर प्रमुख श्रेष्ठले सहकारी तथा समूहमार्फत माग गर्ने कृषकलाई नगरपालिकाले विभिन्न किसिमका कृषि उपकरण तथा औजारहरु निःशुल्क एवम् तथा अनुदानमा उपलब्ध गराउँदै आएकोले लाभ लिन सदस्यहरुलाई आग्रह गरे । कार्यक्रममा साना किसान कृषि सहकारी संस्था महेशपुरका अध्यक्ष मदनबहादुर वस्नेतले पनि शुभकामना मन्तव्य राखेका थिए

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *