Sajhamanch Archive

कोपोमिस सफ्टवेयरले सहकारीलाई प्रत्यक्ष निगरानी गर्ने

Published: in सहकारी by .

बुद्धशान्ति । देशभरका सहकारीलाई प्रत्यक्ष निगरानी गर्ने कोपोमिस सफ्टवेयर कार्यान्वयनमा आएकाले अब सहकारीबाट गरिने फटाईं नियन्त्रण हुने भएको छ ।

सहकारी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) सफ्टवेयर जडान गरी अब देशभरका सबै सहकारी संस्थाहरुले आफ्नो आर्थिकसहितका सम्पूर्ण गतिविधि विवरणहरु अपडेट गर्नुपर्ने भएकाले जोखिम घट्ने अपेक्षा गरिएको हो ।

धेरै सहकारी संस्थाहरु सहकारी मर्म अनुरुप नचलेका र त्यसले गम्भिर खतरा निम्त्याएको हुँदा राज्यले नै त्यसको निगरानी गर्न कोपोमिस अनिवार्य गरिएको बिर्तामोड नगरपालिकाका सहकारी प्रमुख डिल्ली दाहालले बताएका हुन् ।

झापाको बुधबारेमा शनिबार बरपीपल बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको सहकारी अभिमुखीकरण कार्यक्रममा सहजीकरण गर्दै दाहालले बैंक स्टाइलमा खोलिएका सहकारीको भविष्य नभएको पनि बताए । तामझामका साथ बैंक स्टाइलमा खोलिएका सहकारी संस्थाहरु प्रति झट्ट विश्वास नगर्न सर्वसाधारणलाई उनले अनुरोध गरेका छन् ।

संस्थाका अध्यक्ष हरि पौड्यालको अध्यक्षतामा भएको सहकारी सदस्य अभिमुखीकरण कार्यक्रममा दाहालले सहकारी ऐन २०७४ ले सहकारीलाई सहकारीकै शैलीमा डोहोर्याउन महत्वपूर्ण भएको बताए ।

उनले ‘एक व्यक्ति एक सहकारी’ भन्नेकुरा धेरै अघिबाट चर्चा भएपनि त्यो ऐनमा नै उल्लेख भएकाले वि.सं. २०७७ साल कार्तिक मसान्तदेखि कुनैपनि व्यक्तिले समान प्रकृतिका अर्को सहकारीमा शेयर खरिद गर्न नपाउने र भएको भए सो मितिदेखि कुनै एक सहकारीमा मात्र रहनुपर्ने स्पष्ट पारेका छन् ।

दाहालले संविधानको धारा २९२ मा सहकारीका बारेमा उल्लेख गरेको बताउँदै सहकारी ऐन २०७४ को दफा ३ मा संस्था गठन सम्बन्धमा उल्लेख गरिएको जानकारी गराए । सहकारीमा शेयर सदस्य बन्न चाहने नयाँ सदस्यले अबबाट चुक्ता शेयर पूँजीको ० दशमलव ०५ प्रतिशत शेयर अनिवार्य रुपमा किन्नै पर्ने उनको भनाई छ ।

संस्थाका सदस्य अनिल वाग्लेले सञ्चालन गरेको कार्यक्रममा अध्यक्ष पौड्यालले कार्यक्रमको औचित्य माथि प्रकाश पारेका थिए भने सल्लाहकार गंगाराम राई, लेखा संयोजक सन्तोष वाग्ले र कार्यसमिति सदस्य रजिना बरालले तालिमका बिषयमा अनुभव सुनाएका थिए ।

झापाको बुद्धशान्तिमा ६८ वटा सहकारी संस्था छन् भने झापामा जम्मा ९०० भन्दा बढी सहकारी संस्थाहरु रहेका छन् । जसमध्ये प्रदेश अन्तर्गत ४५६ वटा सहकारी संस्थाहरु रहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *