।। सिम्रिक साकोसको वार्षिकोत्सवः १९५ जनाद्वारा रक्तदान ।। ८ जना सम्मानित ।।
Published:
by .बिर्तामोड । यहाँस्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आज आफ्नो आठौं स्थापना दिवस तथा वार्षिकोत्सव समारोह भव्यतापूर्वक सम्पन्न गरेको छ । रक्तदान कार्यक्रमसहित सम्मान र पुरस्कार वितरण गरेर संस्थाले आफ्नो वार्षिकोत्सव मनाएको हो । झापाको इतिहासमा नै आज एउटै कार्यक्रमबाट सबैभन्दा धेरै रक्तदाताले १९५ पिन्ट रक्तदान गरेका छन् । रक्तदातामध्ये रेडक्रसकर्मी ओमप्रकाश लुईटेलले आज ६४औं पटक रक्तदान गरेका हुन् ।
प्रदेशसभाका सदस्य एकराज कार्कीको प्रमुख आतिथ्यमा आयोजित वार्षिकोत्सव समारोहमा राष्ट्रिय सहकारी बैंकको सञ्चालक पदमा सर्वसम्मत निर्वाचित महेन्द्रकुमार गिरी र लेखा सुपरीवेक्षण समितिका संयोजक लक्ष्मीप्रसाद उप्रेतीलाई बधाई ज्ञापनसहित सम्मान गरियो ।यसैगरी, झापा जिल्लाको ट्राफिक व्यवस्थापनमा सकारात्मक परिवर्तन गरेको ठहर गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख (प्रहरी निरीक्षक) राजेश राईलाई नगद ७ हजार १०० रुपैयाँसहित कदरपत्र प्रदान गरियो ।
यस्तै, पत्रकारितामार्फत् सहकारीको समाचार प्रवाह गर्ने पूर्वाञ्चल दैनिकका उपसम्पादक तुलसीप्रसाद निरौलालाई पनि ७ हजार १०० रुपैयाँसहित प्रशंशापत्र प्रदान गरिएको छ । संस्था अन्तरगत पुरस्कृत र सम्मानित हुनेहरुमा मुख्य कार्यालयका सहायक अधिकृत यामबहादुर विष्ट र धुलाबारी सेवा केन्द्रका बजार प्रतिनिधि बिमला न्यौपानेलाई प्रशंशा पत्रसहित नगद ५ हजार १०० रुपैयाँ प्रदान गरियो ।
यसरी नै, सहकारी विभागतर्फ आर्थिक वर्ष २०७४/०७५ मा उत्कृष्ट सेवा प्रवाह गर्ने सुरुङ्गा सेवा केन्द्र र लघुवित्ततर्फ धुलाबारी सेवा केन्द्रलाई नगद ७ हजार १०० रुपैयाँसहित कदरपत्र प्रदान गरिएको छ । संस्थाका सचिव सुवास भट्टराईले सञ्चालन गरेको कार्यक्रममा अध्यक्ष कमलबहादुर बस्नेतले संस्थाका ८ वर्षे सञ्चालन अवधिमा गरेका वित्तीय एवम् सामाजिक क्रियाकलापबारे अवगत गराए ।
अध्यक्ष बस्नेतले ५५ जना शेयर सदस्यबाट २० लाख ५० हजार पूँँजी संकलन गरी स्थापना गरिएको सिम्रिक साकोसमा अहिले २० हजार हाराहारी सदस्य र ८ करोडको पूँजी निर्माण गरिएको जानकारी दिए । संस्थाले अनारमनीसहित ५ वटा गाविसलाई कार्यक्षेत्र बनाएर सुरु गरेकोमा हाल झापा जिल्लाभर सेवा बिस्तार गरिएको तथा सहकारीतर्फ १४ वटा र लघुवित्ततर्फ ७ वटा सेवा केन्द्रमार्फत् सदस्यलाई सेवा प्रवाह गरिरहेको अध्यक्ष बस्नेतको भनाई छ ।
अध्यक्ष बस्नेतले आफ्ना सबै सदस्यलाई संस्थाले परिवारकैजस्तो व्यवहार गर्दै आएको अवगत गराउँदै वित्तीय कारोबारसँगै सामाजिक क्रियाकलापमा पनि अब्बल सेवा प्रदान गरेको बताए । जन्मदेखि मृत्युसम्मका अनेकन पाटाहरुमा सिम्रिक साकोस सदस्यको साथमा रहेको अध्यक्ष बस्नेतको भनाई छ ।
कार्यक्रमका प्रमुख अतिथि सांसद कार्कीले हिजो साहुलाई खुशी नपारेसम्म गाउँका सोझासिधा मानिसले ऋण नपाउने अवस्था रहेको स्मरण गर्दै आज सहकारीको माध्यमबाट त्यो सबको अन्त्य भएकोमा खुशी व्यक्त गरे । सिम्रिक साकोसले आज समाजका हरेक पक्षका मानिसहरुलाई एकैठाउँमा सहभागी गराएर नमूना पेश गरेको बताउँदै सांसद कार्कीले वित्तीय एवम् सदस्यका हिसाबले जिल्लाको चौथो सहकारी बनेकोमा बधाई पनि दिए ।
समारोहमा सहकारीकर्मी एवम् अभियन्ताहरु राष्ट्रिय सहकारी बैंकका लेखा सुपरीवेक्षण समिति संयोजक उप्रेती, सञ्चालक गिरी, बिर्तामोड नगरपालिकाका सहकारी अधिकृत डिल्ली दाहाल र जिल्ला बचत संघका सहसचिव उपेन्द्र ओलीले आ–आफ्ना धारणा राखेका थिए । यस्तै बिर्तामोड नगरपालिका वडा नम्बर ४ का अध्यक्ष कूलप्रसाद संग्रौला, रेडक्रस झापाका सभापति लोकराज ढकाल, नेपाल अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराई, समाजसेवी राजकुमार पोखरेल र पत्रकार केशव भट्टराईले पनि सिम्रिक साकोस र यसले समाज रुपान्तरणमा खेलेको भूमिका बारे आफ्ना भनाई राखेका थिए ।
Comments