दमकमा कर्णाली साकोसको सेवा केन्द्र
Published:
by .दमक । झापाको दमकमा सोमबारदेखि कर्णाली बचत तथा ऋण सहकारी संस्थाको १९औं सेवा केन्द्र उद्घाटन गरिएको छ । बिर्तामोडमा मुख्य कार्यालय रहेको कर्णाली साकोसले दमक नगरपालिका वडा नं. ६ स्थित थानारोडमा आज सेवा केन्द्र शुरु गरेको हो ।
दमक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकाल, जिल्ला सहकारी संघका उपाध्यक्ष गीता कुँवर र संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठले संयुक्त रुपमा रिवन काटेर कार्यालयको उद्घाटन गरेका हुन् ।
विगत ६ वर्षदेखि लखनपुरस्थित सेवा केन्द्रबाट दमकका सदस्यहरुबीच कारोबार गरिरहेको कर्णालीले आजबाट दमकमै कार्यालय स्थापना गरेर सेवा प्रवाह थालेको सेवा केन्द्रका प्रमुख सुजन भण्डारीले जानकारी दिए ।
सेवा केन्द्र उद्घाटन कार्यक्रममा दमक ६ का वडाध्यक्ष टेकबहादुर थापा, नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकका सभापति प्रकाश बुढाथोकी, जिल्ला सहकारी संघका उपाध्यक्ष गीता कुँवर, मेची सहकारीका व्यवस्थापक खोमप्रसाद बगाले, सहकारीकर्मी गोविन्दविक्रम गिरीलगायतले मन्तव्य राखेका थिए ।
सो अवसरमा संस्थाले ९ जना सदस्यहरुको उपचार सहयोगवापत कूल ७३ हजार रुपैयाँ उपचार सहयोग रकम प्रदान गरेको छ । पत्थरिया, मुटु, हर्निया, टाउको आदिको शल्यक्रिया गराएका बिरामीलाई न्यूनतम ४ हजारदेखि १० हजार रुपैयाँसम्म उपचार सहयोग रकम प्रदान गरिएको संस्थाका सचिव भुपाल बस्नेतले बताएका छन् ।
संस्थाको कूल शेयर पूँजी ९० करोड रुपैयाँको हाराहारीमा रहेको तथा संस्थाले पौने २ अर्बको कारोबार गर्दै आएको अध्यक्ष टसबहादुर श्रेष्ठले जानकारी गराए ।
कार्यक्रममा आमन्त्रित पाहुना एवम् संस्थाका सेयर सदस्यहरुलाई उपाध्यक्ष इश्वरीप्रसाद खरेलले शाब्दिक स्वागत गरेका थिए ।
Comments