Sajhamanch Archive

झापामा तीन दिने साकोस अभियान सुरु, पोखरेल सम्मानित

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, सहकारी by .

बिर्तामोड । झापामा आजदेखि तीन दिने साकोस अभियानको शुभारम्भ गरिएको छ । बिर्तामोड २ चारपानेमा आयोजित कार्यक्रमका बीच राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले दिप प्रज्वलन गरी यसको शुभारम्भ गरेका हुन् ।

झापामा पहिलो पटक नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघ (नेफ्स्कुन)को सञ्चालक समितिको बैठक बस्ने शिलशिलामा शुक्रबार, शनिबार र आइतबार सहकारी सञ्चालनका विभिन्न विषयहरुमा चलाइने अभियानको शुरुवात गरिएको हो ।

आज पहिलो दिन जिल्लास्तरीय साकोस गोष्ठी सञ्चालन गरिएको छ । गोष्ठीमा नेफ्स्कुनका प्रमुख प्रशासकीय अधिकृत शिवजी सापकोटाले सहकारी के हो, बचत के हो, आयआर्जन कसरी गर्ने, देशको आर्थिक विकास एवम् कार्ययोजना विकासजस्ता विषयमा सहजीकरण गरेका थिए ।

जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष घनश्याम अधिकारीको अध्यक्षतामा आयोजित साकोस गोष्ठीको औचित्यमाथि प्रकाश पार्दै उनले ऐनले सहकारीलाई उत्पादनमा लैजान भनेको सन्दर्भमा साकोसका उत्पादन के हुन सक्छन् ? भन्ने सन्दर्भमा साकोस गोष्ठीमा छलफल गरिने बताए ।

जिल्लामा सञ्चालित साकोसका अध्यक्ष एवम् व्यवस्थापकहरु सहभागी रहेको साकोस गोष्ठीलाई राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसाद बडालले सम्बोधन गरेका छन् । यस्तै नेफ्स्कुनका अध्यक्ष डिबी बस्नेतलगायतले गोष्ठीमा आ–आफ्ना धारणा राखेका थिए ।
संघका सचिव लीलाप्रसाद भण्डारीले सञ्चालन गरेको कार्यक्रममा सहभागीहरुलाई उपाध्यक्ष तुलाराम न्यौपानेले शब्दस्वागत गरेका थिए ।

अभियानअन्तरगत भोलि शनिबार संघीय सरकारका कानूनमन्त्री भानुभक्त ढकालको सहभागितामा जिल्लाका स्थानीय तहबाट प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष एवम् प्रमुख प्रशासकीय अधिकृतसहित सांसदहरु सहभागी रहने कार्यक्रममा संघीय मन्त्रालयका सचिव गोपीनाथ मैनालीले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

भोलि नै मेचीनगर नगरपालिकाका सबै संस्थाहरुको जोखिममा आधारित सुपरीवेक्षण गर्ने तथा झापाका २० वटा सहकारीहरुमा एक्सपोजर भिजिट गर्ने लगायतका कार्यक्रमहरु तय गरिएको अध्यक्ष अधिकारीले जनाएका छन् ।

यसैबीच, सहकारी क्षेत्रमा लाग्दै आएको २० प्रतिशत आयकरलाई सहकारी ऐनअनुसार परिमार्जन गर्न अभियन्ताको तर्फबाट उल्लेखनीय योगदान गरेको ठहर गरी महासंघका सञ्चालक रमेशप्रसाद पोखरेललाई सम्मान गरिएको छ ।

राष्ट्रिय सहकारी बैंकका निवर्तमान अध्यक्ष पोखरेलले सरकारले गठन गरेको कार्यदलको सदस्य रही सहकारी अभियन्ताको तर्फबाट दर्बिलो प्रस्तुति गरेकै कारण आयकरको दर समायोजना भएको संघले ठहर गरेको हो । पोखरेललाई नेफ्स्कुनका अध्यक्ष डिबी बस्नेत, महासंघका अध्यक्ष बडाल र जिल्ला बचत संघका अध्यक्ष अधिकारीले संयुक्ररुपमा प्रदान गरेका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *