भान्सा नै औषधालय विषयक अभिमुखीकरण
Published:
by .बिर्तामोड । ‘माटो र आमाको स्वास्थ्य सुधार अभियानबाट भान्सा नै औषधालय’ विषयक एकदिने अभिमुखीकरण कार्यक्रम आइतबार बिर्तामोडमा सम्पन्न भएको छ । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) अन्तर्गतको विषयगत समिति शिक्षा तथा तालिम समितिको आयोजनामा संस्थाको बिर्तामोड कार्यालयमा सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको सहजीकरण गर्र्दै वस्तु तथा सेवा उपभोक्ता संरक्षण महासंघ नेपालका अध्यक्ष रोमलाल गिरीले आधुनिकताको नाममा जङ्क फुड र फास्ट फुडले मानिसलाई मृत्युको नजिक पुर्याइरहेकोले अग्र्यानिक खानपिनको महत्त्वबारे बताएका थिए । भान्साबाट निस्केका वस्तु नै विष र अमृत दुवै हुने हुनाले खानालाई स्वस्थकर बनाएर नै जीवन स्वस्थकर हुनेमा उनको जोड रहेको थियो । पर्यावरणीय सुरक्षाको क्षेत्रमा एनएमसीजस्तो सहकारीले अग्रसरता लिँदै यस क्षेत्रमा अघि बढेको प्रशंसा गर्दै उनले यसका निम्ति एनएमसीलाई धन्यवाद दिएका थिए ।
त्यस्तै अर्का सहजकर्ता डा. शिवराम ढकालले मानिसमा खानपिनबाट पर्ने प्रत्यक्ष तथा परोक्ष प्रभावका बारेमा चर्चा गरेका थिए ।
संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीको विशेष उपस्थिति रहेको कार्यक्रमको अध्यक्षता समितिका संयोजक तथा सञ्चालक सदस्य डम्बरबहादुर बस्नेतले गरेका थिए ।
कार्यक्रममा संस्था अन्तर्गतका सञ्चालक समिति, सल्लाहकार समिति, लेखा समिति, विषयगत समितिका पदाधिकारीहरु, विभिन्न कार्यालयका कार्यालय प्रमुखलगायतको उपस्थिति रहेको थियो । ५० जनाभन्दा बढीको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन समिति सदस्य अम्बिकाप्रसाद ढकालले गरेका थिए ।
Comments