पूर्णिमा कृषि सहकारीमा सदस्य शिक्षा तालिम
Published:
by .बिर्तामोड । यहाँस्थित पूर्णिमा कृषि सहकारी संस्थाले आज आफ्नो सभाहलमा सदस्य सहकारी शिक्षा तालिम प्रदान गरेको छ । बिर्तामोड नगरपालिका वडा नं. ४ का अध्यक्ष कूलप्रसाद संग्रौलाको प्रमुख आतिथ्यमा उद्घाटन गरिएको सदस्य शिक्षा तालिमको सहजीकरण सहकारी अधिकृत डिल्ली दाहालले गरेका थिए ।
तालिमको उद्घाटन गर्दै वडाध्यक्ष संग्रौलाले आफ्नो वडाका सहकारीहरुको प्रवर्धनका लागि कानूनले दिएसम्मको अधिकार प्रयोग गरेर सहयोग गर्ने बताए । उनले सहकारीको प्रगतिमा सञ्चालक समिति र कर्मचारीको जत्तिकै भूमिका एवम् क्रियाशीलता शेयर सदस्यहरुमा भएमा मात्र संस्था उँभो लाग्ने भएकाले सहकारी शिक्षा तालिमको महत्व रहेको प्रष्ट पारे ।
सो अवसरमा राष्ट्रिय सहकारी बैंक बिर्तामोड शाखाका प्रमुख मुना घिमिरेले सहकारी संस्थाहरु र सहकारी बैंकले हातेमालो गरेर अघि बढिरहेका कारण अभियान सकारात्मक ढंगले चलिरहेको बताइन् । संस्थाको काम कारवाहीका बारेमा सञ्चालकहरुसमेत अनविज्ञ रहने गरेको आफूले पाएको भन्दै बैंकका शाखा प्रमुख घिमिरेले वित्तीय क्षेत्रको जिम्मेवारीमा रहेका जो कोहीले हेलचेक्राईं गर्न नहुने सुझाव दिइन् ।
तालिम उद्घाटन समारोहमा पत्रकार गोपाल काफ्लेले सहकारीमा सदस्य शिक्षा कार्यक्रमको आवश्यकता, औचित्य एवम् महत्वका बारेमा आफ्नो धारणा राखेका थिए । तालिममा संस्थाको सञ्चालक समितिका सदस्य तथा पदाधिकारीहरु, लेखा समितिका संयोजक तथा सदस्यहरुको सहभागिता रहेको थियो । यस्तै ऋण, शिक्षा तथा महिला उपसमितिका संयोजक र सदस्यहरुसहित कर्मचारीहरुको उल्लेख्य उपस्थितिमा तालिम सञ्चालन गरिएको थियो ।
संस्थाका अध्यक्ष छबिलाल विश्वकर्माको अध्यक्षतामा आयोजित सदस्य शिक्षा तालिममा आमन्त्रित अतिथि एवम् सहभागीहरुलाई सञ्चालक सदस्य देशमाया थेबेले स्वागत गरेकी थिइन् । सदस्य शिक्षा तालिम कार्यक्रमका सहजकर्ता दाहालले सहकारी ऐन २०७४, बिर्तामोड नगरपालिका सहकारी ऐन २०७४ सहितका ऐन नियमहरुका बारेमा छलफल गरेका थिए ।
Comments