Sajhamanch Archive

कोटीहोममा ढकाल बन्धुहरुको भवन तथा मन्दिरको उद्घाटन

Published: in राष्ट्रिय समाचार, विविधा, समाज by .

कनकाई । ढकालबन्धु हित तथा वंशावली एकीकृत समाज केन्द्रीय कार्यसमितिले कनकाई– ४ कोटीहोममा निर्माण गरेको ढकाल बन्धुहरुको नवनिर्मित भवन तथा मन्दिरको सोमबार उद्घाटन गरिएको छ ।

ढकालबन्धु हित तथा वंशावली एकीकृत समाज केन्द्रीय कार्यसमितिको आयोजनामा कोटीहोममा आजदेखि शुरु भएको श्रीमद् शिवमहापुराण एकादशह ज्ञान महायज्ञमा नवनिर्मित भवन तथा मन्दिरको उद्घाटन गरिएको हो ।

नेपाल सरकारका कानूनमन्त्री भानुभक्त ढकालले ढकाल बन्धुहरुको नवनिर्मित भवन तथा मन्दिरको उद्घाटन गरेका हुन् । कार्यक्रममा प्रमुख अतिथि रहेका मन्त्री ढकालले बन्धुहरुले धेरै ठाउँमा प्रशंसनीय र उदाहरणीय काम गर्न सकेकोमा ढकाल बन्धुहरुको एकताको प्रशंसा गर्दै आगामी दिनमा पनि बन्धुहरुले गरेको कार्यमा आफ्नो साथ सहयोग रहने बताए ।

आफू देशकै समृद्धि र प्रगतिको लागि राजनीतिमा लागेको बताउँदै देशका लागि कानून निर्माणका क्षेत्रमा उल्लेख्य काम गर्न सकेको बताए । अबको चार वर्षमा देशको मुहार उज्यालो पार्नका लागि अहोरात्र काम गरिरहेको बताउँदै मन्त्री ढकालले जनताले चाहेको समृद्धि पूरा गर्न सरकार लागी परेको बताए ।

ढकालबन्धु हित तथा वंशावली एकीकृत समाजका अध्यक्ष भानुभक्त ढकालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष गणेश ढकालले गरेका थिए । कार्यक्रममा उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डी ढकाल, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले पुराणको सफलताको लागि शुभकामना दिए ।

ढकाल बन्धुहरुले वार्षिकरुपमा सञ्चालन गर्दै आएको पुराणमा सोमबारदेखि कथा वाचन आरम्भ भएको हो । पितृजन्य दोष निवारणका लागि त्रिपिण्डी श्राद्ध र सहस्रधारा स्नान, वंशावली संकलन तथा एकीकरण, ढकाल वंश भेटघाट महोत्सवसहित आयोजित श्रीमद् शिवमहापुराण चैत २१ गतेसम्म सञ्चालन हुनेछ ।

ढकाल बन्धु हित तथा वंशावली एकीकृत समाजका सहसचिव चन्द्रकान्त ढकालले बताए अनुसार नेपाल, भारत, वंगलादेश लगायत विश्वभरिका ढकालहरुको वंशावली एकीकरणको उद्देश्य राखेर ढकाल वंशहरुले कोटीहोममा करिब एक करोड रुपैयाँको लगायतमा सभाहलसहितको पक्की भवन निर्माण गरेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *