Sajhamanch Archive

झापामा ६२औं सहकारी दिवसः फरक शैलीमा विशेष बनाइँदै

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, सहकारी by .

झापा । झापाको सहकारी अभियानको सिङ्गो उपस्थितिका बीच चैत २० गते राष्ट्रिय सहकारी दिवसमा ६ वटा सहकारी संस्थाहरु, ६ जना सहकारी अभियन्ताहरु, एकजना पत्रकार र एउटा सञ्चार संस्थालाई पुरस्कृत र सम्मानित गरिने भएको छ ।

विगतमा जस्तै योवर्ष पनि सहकारी अभियानको उन्नयन र प्रवद्र्धनमा क्रियाशील उत्कृष्टहरुलाई छानेर सम्मान र पुरस्कार प्रदान गर्न लागिएको हो । झापा जिल्ला सहकारी संघले आज बिर्तामोडमा पत्रकार सम्मेलन गरी पुरस्कृत र सम्मानित हुनेहरुको नामावलि सार्वजनिक गरेको हो ।

संघका अनुसार यसवर्ष उत्कृष्ट सहकारी व्यक्तित्व सम्मान पुरुषतर्फ हरिचरण बानियाँ र महिलातर्फ भोजकुमारी नेपाललाई प्रदान गरिने भएको छ । बानियाँ संघका पूर्व अध्यक्ष हुन् भने शिवसताक्षी नगरपालिकाका उपप्रमुखसमेत रहेकी नेपाल संघका पूर्व सञ्चालक हुन् ।

यसरी नै उत्कृष्ट सहकारी सञ्चालक पुरुषतर्फ संजीवनी साकोस बिर्तामोडका अध्यक्ष यामकुमार चुँडाल र महिलातर्फ न्यू पशुपति साकोस बुद्धशान्तिका अध्यक्ष खिनमाया बाँस्तोला खतिवडा पुरस्कृत र सम्मानित हुने भएका छन् ।

सहकारी कर्मचारीलाई प्रदान गरिने उत्कृष्ट व्यवस्थापकको पुरस्कार पुरुषतर्फ नवोदय बहुउद्देश्यीय सहकारी, कमलका फडिन्द्रबहादुर कार्की र महिलातर्फ चन्दा सिटौला भानु बहुमुखी सहकारी मेचीनगर पुरस्कृत एवम् सम्मानित हुनेछन् ।

यो वर्ष सहकारी विटमा पत्रकारिता गरेको भनी पूर्वसन्देश दैनिकका सम्पादक गञ्जबहादुर दाहाललाई उत्कृष्ट पत्रकार र मेचीनगरबाट प्रकाशन हुने लोकतन्त्र पोष्टलाई उत्कृष्ट सञ्चार गृहका रुपमा पुरस्कृत गर्ने निर्णय भएको पत्रकार सम्मेलनमा वितरित प्रेस विञप्तीमा जनाइएको छ ।

पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तीमा उल्लेख भएअनुसार यो वर्ष पुरस्कृत हुने उत्कृष्ट सहकारी संस्थाहरुमा दुर्गेश्वरी कृषि सहकारी संस्था मेचीनगर, धौलागिरी पारिजान बहुउद्देश्यीय सहकारी संस्था बिर्तामोड र कलवलगुरी कृषि सहकारी संस्था भद्रपुर परेका छन् । यसैगरी, श्रद्धा कृषि सहकारी संस्था अर्जुनधारा, चौतारी बचत तथा ऋण सहकारी संस्था शिवसताक्षी र जुरोपानी साना किसान कृषि सहकारी संस्था गौरादहले यो वर्ष उत्कृष्ट सहकारीको सम्मान र पुरस्कार पाउने भएका छन् ।

शिवसताक्षीको दूधेमा चैत २० गते बुधबार मध्यान्न र्यालीसहित दशौं हजारको उपस्थितिमा मनाइने ६२औं राष्ट्रिय सहकारी दिवसको समुद्घाटन दिबसको उद्घाटन १ नम्बर प्रदेशसभाका उपसभामुख सरस्वती पोखरेलबाट गरिने कार्यक्रम बनाइएको जिल्ला संघका अध्यक्ष गणेश ढकालले जानकारी दिए ।

यसपटकको सहकारी दिवसमा झापाको सहकारी अभियानका आगामी दिशा उद्यमशिलता नै हो भन्ने निश्कर्षस्वरुप सहकारीका उत्पादनलाई प्रोत्साहन गर्न २० वटा स्टल राखिनेछ । यस्ता स्टलमा छिमेकी जिल्लाहरु इलाम, पाँचथर र मोरङ जिल्ला सहकारी संघहरुले पनि उपस्थिति जनाउने भएका छन् ।

यसैगरी सहकारीका महिला सदस्यहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै साना किसान सहकारी संस्थाहरुको पहलमा क्यानसर विरुद्ध सचेतना अभियान तथा निःशुल्क चेकजाँच गर्न क्याम्प राखिने भएको छ । क्यान्सर विरुद्धको अभियानमा डा. सुधा त्रिपाठीको नेतृत्वमा अभियानका सद्भावना दूत पूर्व मिसनेपाल सुगारिका केसीको सहभागिता रहने पत्रकार सम्मेलनमा जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *