Sajhamanch Archive

मोरङका दुई युवालाई दुबईमा बन्धक बनाएर यातना, एजेन्ट समातिए

Published: in विविधा by .

विराटनगर । रोजगारको शिलसिलामा दुबई पुगेका दुई युवालाई बन्धक बनाएर कुटपिट गरेको पाइएको छ । मोरङको सुन्दरहरैँचा नगरपालिका– ५ लाटिझोडाका २१ वर्षीय पुष्पमणि गौतम र २३ वर्षीय रवीन पराजुलीलाई रोजगार दाता कम्पनीले मान्छे लगाएर यातना दिने गरिएको पाइएको हो ।

उनीहरू करिब ७ महिनाअघि एजेन्ट महेन्द्र तामाङ्गमार्फत काठमाण्डौस्थित ‘बाइटपल म्यानपावर’ बाट दुबई पुगेका थिए । तर, कम्पनीले पारिश्रमिक नदिई बन्धक बनाएर कुटपिट गर्ने गरेको उनीहरूका आफन्तले बताएका छन् ।

म्यानपावरले भने अनुसारको काम र तलब नदिएपछि घर फर्किने आग्रह गर्दा कम्पनीका मालिकले बन्धक बनाएर कुटपिट गरेको पुष्पमणिका बुबा भोजराजले बताए । छोरा र सालोलाई दुबईमा कम्पनीले यातना दिएपछि स्वदेश झिकाउन र एजेन्ट र म्यानवारलाई कारवाही गर्न माग गरेका छन् ।

उनले एजेन्टलाई कारवाही गरी विदेश जाँदा लिएको रकम फिर्ता गराउन श्रम तथा रोजगार कार्यालय विराटनगरमा उजुरी दिएका छन् । उनले चैत १५ गतेदेखि कोठामा बन्दक बनाएर कुटपिट गर्दै आएको बताए ।

भोजराजले छोरा र सालोलाई स्वदेश झिकाउन विदेश पठाउने म्यानपावर र एजेन्ट महेन्द्र तामाङलाई विन्ती गर्दा पनि कुनै चासो नदेखाएपछि श्रम तथा रोजगार कार्यालयमा आएको बताए । राम्रो काम र तलबको प्रलोभनमा देखाएर एजेन्ट तामाङमार्फत वाइटपल म्यानवापरबाट गौतम र पराजुलीले प्रतिव्यक्ति १ लाख ७० हजार रुपैयाँ बुझाएका थिए ।

गौतम र पराजुलीलाई विदेश पठाउने एजेन्टको काम गर्ने मोरङका सुन्दरहरैँचाका घर भइ इटहरीमा बसोबास गर्दै आएका महेन्द्र तामाङ्ग पक्राउ परेका छन् । श्रम तथा रोजगार कार्यालय विराटनगरले तामाङ्गलाई पक्राउ गर्न इटहरी प्रहरीलाई पत्रचार गरेपछि इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरी श्रम कार्यालयमा बुझाएको छ ।

वैदेशिक रोजगार ऐन, २०६४ को दफा १० बमोजिम इजाजतपत्रबिना वैदेशिक रोजगार व्यवसाय संचालन गर्न र एजेन्टको रुपमा काम गर्न नपाउने प्रावधान छ । तर, तामाङले एजेन्टको कुनै पनि म्यानपावरको परिचयपत्र र इजाजत नलिइ वैदेशिक रोजगारमा पठाएकोले नियन्त्रणमा लिएको प्रेमप्रसाद सञ्जेलले जानकारी दिए ।

वैदेशिक रोजगारसम्बन्धि मुद्दामा पक्राउ परेका अभियुक्तलाई अड्डा सार गरेर काठमाण्डौमा वैदेशिक रोजगार विभागमा बुझाउने गरेको उनले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *