सिम्रिकमा लघुवित्त केन्द्रप्रमुखहरुको गोष्ठी धमाधम
Published:
by .बिर्तामोड । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आज बिर्तामोडमा सहकारी शिक्षा तालिम कार्यक्रम सम्पन्न गरेको छ । संस्था अन्तरगत लघुवित्त कार्यक्रमका केन्द्र प्रमुखहरुको गोष्ठीसहित सहकारी शिक्षा तालिम गराइएको हो ।
संस्थाका सचिव एवम् शिक्षा तथा तालिम समितिका संयोजक सुवास भट्टराईको अध्यक्षतामा आयोजित गोष्ठीको उद्घाटन बिर्तामोड नगरपालिका २ का वडाध्यक्ष नगेन्द्रप्रसाद संग्रौलाले गरेका थिए ।
गोष्ठीको उद्घाटन पछि मन्तब्यमा वडाध्यक्ष संग्रौलाले सहकारीले मानिसलाई परिश्रमी एवम् इमान्दार बन्न सिकाउने बताए । छिमेकी मुलुक चीनको उदाहरण दिँदै वडाध्यक्ष संग्रौलाले त्यहाँका मानिस समृद्ध बनाउन उनीहरु परिश्रमी भएकाले नै सफल भएको सुनाए ।
सहकारी अभियानलाई नेपालको संविधानले पनि नेपाली अर्थतन्त्रको एउटा खाँबो स्वीकार गर्नु भनेको सहकारी क्षेत्रका लागि महत्वपूर्ण पक्ष रहेकाले यसको प्रवद्र्धनमा लाग्नु राम्रो हुने सुझाव दिए ।
सो कार्यक्रममा संस्थाका अध्यक्ष कमलबहादुर बस्नेतले सहकारीको गत चैतसम्मको वित्तीय झलक प्रस्तुत गरेका थिए । हाल नवौं वर्षमा यात्रारत संस्थामा २० हजार हाराहारी शेयर सदस्य तथा ८ करोड ७४ लाख रुपैयाँ शेयर पूँजी रहेको र १० करोडभन्दा बढीका विभिन्न कोषहरु मौज्दात रहेको जानकारी गराए ।
अध्यक्ष बस्नेतले संस्थामा ४० करोड ९१ लाख रुपैयाँ निक्षेप र ६२ करोड ७२ लाख रुपैयाँ कर्जा लगानीमा रहिरहेको पनि गोष्ठीमा सहभागीहरुलाई अवगत गराए ।
सिम्रिक साकोसले वित्तीय कारोबारमात्र नगरेर सदस्यहरुको व्यवहारिक एवम् सामाजिक समस्यामा पनि भरथेग गरिरहेको अध्यक्ष बस्नेतको भनाई छ । संस्थाले शेयर सदस्य बिरामी भएको अवस्थामा उपचार खर्च प्रदान गर्ने गरेको छ भने ऋणी सदस्यको मृत्यु भएमा कर्जा मिनाहा गरिदिने गरेको छ ।
संस्थाका विभागीय प्रमुख विजय बस्नेतले सञ्चालन गरेको केन्द्र प्रमुखहरुको गोष्ठीमा पत्रकार गोपाल काफ्लेले आफ्ना धारण राखेका थिए । तालिममा सहभागीहरुलाई शिक्षा तथा तालिम समितिका सदस्य मेहरमान विष्टले स्वागत गरेका थिए ।
यसअघि मेचीनगरको काँकरभिट्टामा वैशाख ११ गते र धुलाबारीमा वैशाख १९ गते लघुवित्त विभाग अन्तरगत केन्द्र प्रमुखहरुको गोष्ठी सम्पन्न गरिएको थियो । अब कार्यक्षेत्रभरका केन्द्र प्रमुखहरुको तालिम र गोष्ठी धमाधम गरिने संयोजक भट्टराईले बताए ।
Comments