Sajhamanch Archive

निशुल्क स्वास्थ्य शिविरमा सेवाग्राहीको घुइँचो

Published: in मुख्य समाचार, सहकारी, स्वास्थ्य by .

हल्दिबारी । सतासी बहुमुखी सहकारी संस्थाले वैशाख २९ गते जलथलको बडाबारीमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा सेवाग्राहीहरुको बाक्लो सहभागिता रहेको थियो ।

झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेर जिल्लाभर कार्यक्षेत्र बिस्तारित सतासीको हल्दिबारी सेवा केन्द्रले स्वास्थ्य शिविरको आयोजना गरेको हो । बिर्तामोडको मनमोहन अस्पताल र काँकरभिट्टाको मेची नेत्रालयका चिकित्सकहरुले सेवाग्राहीको स्वास्थ्य परीक्षण गरेका हुन् ।

हल्दिबारी ४ जलथलको स्वास्थ्य चौकीमा आयोजित निशुल्क स्वास्थ्य शिविरमा बालरोग, स्त्रीरोग, हाडजोर्नी तथा नशारोग, जनरल फिजिसियन र आँखा रोग सम्बन्धी उपचार र सेवा प्रवाह गरिएको सेवा केन्द्र संयोजक धनबहादुर श्रेष्ठले जानकारी दिएका छन् ।

स्वास्थ्य शिविरबाट १६८ जनाले आँखाको उपचार सेवा पाएका छन् । तीमध्ये ५ जनाको आँखाको शल्यक्रिया गर्नुपर्ने भएकाले सहकारी संस्थाले नै खर्च व्यहोर्ने गरी मेची नेत्रालय पठाइएको संस्थाका व्यवस्थापक सन्तोषकुमार श्रेष्ठले बताए ।

शिविरमा ८७ जना बालबालिकाको चेकजाँच गरिएको छ । यस्तै ८९ जना महिलाको गाइनो सम्बन्धी परीक्षण गरिएको, ५६ जनाको सामान्य शल्यक्रिया गरिएको तथा २२२ जनाले जनरल फिजिसियनबाट सेवा लिएका छन् ।

शिविरमा आँखाको जाँच गराउँदा समस्या देखिएकाहरुलाई निःशुल्करुपमा चस्मा प्रदान गरिएको छ । यस्तै अन्य स्वास्थ्य समस्या लिएर आएका सेवाग्राहीलाई पनि निशुल्क औषधी वितरण गरिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *