हाम्रो नेपालद्वारा १८० बाल बचतकर्तालाई शैक्षिक सामग्री प्रदान
Published:
by .सुरुङ्गा । हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले आज सुरुङ्गा सेवा केन्द्र अन्तरगतका बाल बचतकर्ता सदस्यहरुलाई शैक्षिक सामग्री प्रदान गरेको छ ।
सो सेवा केन्द्रमा ३५६ जना बाल बचतकर्ता रहेकोमा १८० जना नियमित रहेका छन् । उनीहरुलाई बचतमा अझ प्रोत्साहित गर्न र अनियमित बचतकर्तालाई नियमित बन्न उत्प्रेरित गर्ने उद्देश्यले शैक्षिक सामग्री प्रदान गरिएको सेवा केन्द्र प्रमुख ज्योति पराजुलीले बताइन् ।
झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालको प्रमुख आतिथ्यमा सम्पन्न गरिएको कार्यक्रममा उनले विगत र अहिलेमा सहकारीलाई हेर्ने दृष्टिकोण र परिचयमा परिवर्तन आइसकेको जिकिर गरे ।
हाम्रो नेपाल साकोसले जन्मदेखि मृत्युसम्म सदस्यको साथ रहने नारा दिएर यस्ता रचनात्मक कार्यक्रमहरु गरेकैले यो संस्था ६ वर्षको छोटो अवधिमा जिल्लामै उदाहरणीय बन्दै गएको जिल्ला संघका अध्यक्ष ढकालको भनाई छ ।
संस्थाका अध्यक्ष भवानीप्रसाद दंगालको अध्यक्षतामा भएको कार्यक्रमको औचित्य प्रकाश पार्दै संस्थाको सामाजिक उत्तरदायित्व अन्तरगत बाल बचतकर्तालाई शैक्षिक सामग्री प्रदान गरिएको बताए ।
संस्थाले बालबालिकालाई बचत गर्न सिकाउन मात्र नभई भविष्यमा उच्च शिक्षाका लागि अभिभावकलाई आउने आर्थिक कठिनाई समाधानका लागि पनि यस्ता कार्यक्रमहरु गरिँदै आएको अध्यक्ष दंगालको भनाई छ ।
सो कार्यक्रममा आमन्त्रितहरुलाई संस्थाका विभागीय प्रमुख सरोज दाहालले स्वागत गरेका थिए भने लेखा समितिका संयोजक कृष्णराज कटवाल, बीमा कम्पनीका कर्मचारी तोफिकले आ–आफ्ना धारणा राखेका थिए ।
Comments