Sajhamanch Archive

कोपोमिस सफ्टवेयर सम्बन्धी सहकारी विभागको अभिमुखीकरण झापामा

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by .

बिर्तामोड । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय अन्तरगत सहकारी विभागले जेठ १३ र १४ गते झापाको बिर्तामोडमा कोपोमिस सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ ।

झापा, मोरङ र सुनसरीका १०० वटा प्रारम्भिक सहकारी संस्थाका सञ्चालक एवम् कर्मचारीहरुलाई लक्षित गरी सञ्चालित दुई दिने कोपोमिस अभिमुखीकरण तालिममा आज ५० वटा संस्थाको सहभागिता रहेको छ ।

सहकारी अभियानको प्रवद्र्धन, नियमन र नियन्त्रण गर्न सहज बनाउने उद्देश्यले सहकारी विभागले कोपोमिस सफ्टवेयर निर्माण गरेको र सोको प्रयोगबारे अभिमुखीकरण आयोजना गरिएको जानकारी दिइएको छ ।

सहकारी विभागका रजिष्ट्रार डाक्टर टोकराज पाण्डेको अध्यक्षमा आयोजित अभिमुखीकरण कार्यक्रममा उनले सहकारीलाई मर्यादाभित्र राख्न र सुशासनमा मद्धत पुगोस् भनेर कोपोमिस सफ्टवेयर कार्यान्वयनमा ल्याइएको जानकारी दिए ।

‘आगामी आर्थिक वर्ष २०७६/०७७ बाट सबै प्रारम्भिक सहकारी संस्थाले यो सफ्टवेयरको उपयोग गर्नु अनिवार्य छ’ डाक्टर पाण्डेले भने ‘कोपोमिस सफ्टवेयर नेपालको सहकारी अभियानको मुटु र रक्तसञ्चार जस्तै हो ।’

तालिम उद्घाटन समारोहमा राष्ट्रिय सहकारी बैंक लेखा सुपरीवेक्षण समितिका संयोजक लक्ष्मीप्रसाद उप्रेतीले कोपोमिस कार्यान्वयनमा आउँछ कि आउँदैन होला भन्ने आम चिन्ताका बीच सहकारी विभागले सहकारीकर्मीलाई अभिमुखीकरण गर्न थाल्नु प्रशंसनीय भएको बताए ।

विभागका अधिकृत हरि पौडेलले सञ्चालन गरेको अभिमुखीकरण उद्घाटन कार्यक्रममा नेपाल कृषि सहकारी केन्द्रीय संघका उपाध्यक्ष मीना ढकालले सहकारीले उत्पादन गरेका वस्तुहरुको बिक्री वितरणका लागि विभागको ध्यानाकृष्ट गराइन् ।

झापाबाट सुरु भएको कोपोमिस अभिमुखीकरण विभागको मुख्य अभियान भएकाले सातवटै प्रदेशमा यस्ता कार्यक्रम गरिने लक्ष्य रहेको बताइएको छ । कार्यक्रमको औचित्यसहित आमन्त्रित सहभागीहरुलाई बिर्तामोड नगरपालिकाका सहकारी अधिकृत डिल्ली दाहालले स्वागत गरेका थिए ।

 

अभिमुखीकरणमा विभागका सहरजिष्ट्रार शशिकुमार, रजिष्ट्रार डा. पाण्डेलगायतले सहजीकरण गरेका छन् । कोपोमिसको उद्देश्य, महत्व र उपयोगिताबारे, कोपोमिस सञ्चालनमा सहकारी संस्था र नियामक निकायको भूमिका बारे एवम् कोपोमिस उपयोगिताको व्यवहारिक अभ्यासबारे अभिमुखीकरण गरिएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *