Sajhamanch Archive

एनएमसीको पहिलो सहकारी पसल शनिश्चरेमा सञ्चालन

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by .

अर्जुनधारा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले झापाको अर्जुनधारा नगरपालिका वडा नं. ८ स्थित शनिश्चरे बजारमा आजदेखि एनएमसी सहकारी पसल औपचारिकरुपमा सञ्चालनमा ल्याएको छ । अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले एनएमसी सहकारी पसलको ढोकामा लगाइएको रिबन काटेर उद्घाटन गरिदिएका हुन् ।

कोअप सप सञ्चालन समितिका संयोजक तथा संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीको अध्यक्षतामा आयोजित सहकारी पसल उद्घाटन समाहरोमा अध्यक्ष उप्रेतीले संस्थाको व्यवसायिक योजनाको बारेमा चर्चा गरेका थिए । एनएमसीले नाफा गर्न सहकारी पसल खोलेको नभई संस्थाले उत्पादन गरेका बस्तुहरु सदस्यलाई सहजरुपमा प्राप्त गर्न सहज होस् भनेर तथा समाजको आवश्यकता पूरा गर्ने हेतुले पसलको सुरुवात गरिएको बताए ।

कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख रानाले राष्ट्रिय पूँजी, दलाल पूँजी पछि सहकारी पूँजी व्यवहारमा आएकाले अब जनजीवनमा चाहिने सबैखाले वस्तुहरुको सहकारीले उत्पादन गरेर गुणस्तर र स्वास्थ्यमा ध्यान दिन सकिने बताए । किसानले मेहनत गरेर इमान्दारीपूर्वक उत्पादन गरेको विषादी रहित फलफूल, सागसब्जी एवम् उपभोग्य बस्तु सहकारीले बेच्ने र स्थानीय उत्पादनलाई प्राथमिकता दिएर बजारीकरणमा सहयोग गरी अर्जुनधारालाई नमूना नगर बनाउन हातेमालो गर्नुपर्नेमा जोड दिए ।

 

संस्थाका उपाध्यक्ष लक्ष्मीप्रसाद उप्रेतीले एनएमसीको व्यवसायिक विविधिकरण बारे जानकारी गराउँदै ५ वर्षभित्रमा जिल्लाका ५० स्थानमा यस्ता सहकारी पसल सञ्चालन गर्ने लक्ष्य सुनाए । ‘एनएमसी कोअप सपमा ठूला डिपार्टमेन्टल स्टोरमा जस्तो सबैखाले सामग्री पर्याप्त पाइन्नन् तर स्थानीय उपभोक्ताका लागि अति आवश्यक उपभोग्य वस्तुहरु गुणस्तरीय ढंगबाट उपलब्ध गराउन तल्लिन छौं’ उपाध्यक्ष उप्रेतीले बताए ।

सहकारी पसल उद्घाटन समारोहमा शनिश्चरे उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त सोमानी, सतासी बहुमुखी सहकारी संस्थाका अध्यक्ष रुद्रमणि श्रेष्ठ, झापा चेम्बर अफका अध्यक्ष सन्तोष अग्रवाल, जिल्ला सहकारी संघका सदस्य टंक बराललगायतले मन्तव्य राखेका थिए ।

शनिश्चरे कार्यालयगत समिति संयोजक धर्मानन्द गुरागाईले स्वागत गरेको कार्यक्रमको सञ्चालन एनएमसी शनिश्चरे शाखा प्रमुख अरुणकुमार प्रधानले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *