सहकारी र प्रविधि विषयक अन्तरक्रिया सम्पन्न
Published:
by .झापा । सहकारी तथा वित्तीय संस्थाहरुको कारोबार व्यवस्थित गर्न निर्मित कम्प्युटर सफ्टवेयर एभरेष्ट सिबिएस प्रयोगका सम्बन्धमा आज बिर्तामोडमा एक कार्यक्रम गरिएको छ ।
‘डिजिटल नेपालका लागि सहकारी र प्रविधि’ विषयमा प्लानेट अर्थ सोलुसन्स प्रालि ललितपुरले अन्तरक्रिया आयोजना गरेको हो । विगत ११ वर्षदेखि सञ्चालनमा रहेको सफ्टवेयर उत्पादक संस्थाले विशेषगरी सहकारीका लागि निर्मित एभरेष्ट सिबिएस प्रयोगका सम्बन्धमा आज अन्तरक्रिया गरेको हो ।
अन्तरक्रियामा सफ्टवेयर उत्पादक कम्पनीका कार्यकारी प्रमुख कृष्णगोपाल महर्जनले सहकारीमा प्रविधि बिनाको कारोबार अबका दिनमा झन् असम्भव बन्दै गएकाले संस्थालाई प्रविधिमैत्री बनाउन सहजीकरण थालेको बताए ।
करिब डेढ घण्टा लामो प्रस्तुतिमा उनले एभरेष्ट सिबिएसका रचनात्मक पक्षहरु, यसको प्रयोगबाट सहकारी संस्थालाई हुने सहजता एवम् आर्थिक लगानीका विषयमा छलफल गरे । अन्तरक्रियामा उठेका जिज्ञासाहरुबारे प्लानेट अर्थ सोलुसन्स प्रालिका प्रदेश १ संयोजक राजु कुँवर र कम्पनीका कार्यकारी प्रमुख महर्जनले प्रष्ट पारेका थिए ।
प्रदेश १ संयोजक कुँवरले सञ्चालन गरेको अन्तरक्रिया कार्यक्रममा साझामञ्च डटकमका सम्पादक गोपाल काफ्ले र स्मार्ट सोलुशनका कार्यकारी निर्देशक कमल सिग्देलले सहकारितामा आधुनिक प्रविधिको प्रयोगका बारेमा आ–आफ्ना धारणा राखेका थिए ।
Comments