Sajhamanch Archive

गुठी विधेयकको विरोध गर्नेमाथि प्रहरी दमन

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । गुठीसम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयकको विरोध गर्दै आन्दोलनमा उत्रिएकामाथि प्रहरीले दमन गरेको छ ।

आइतबार माइतीघर मण्डलमा गुठीसम्बद्ध विभिन्न संघसंस्थाले सामूहिक रुपमा आयोजना गरेको विरोध कार्यक्रममा प्रहरीले दमन गरेको हो । सो क्रममा डा। महेशमान श्रेष्ठ, अनिश वैद्य पक्राउ परेका छन् भने महेश्वर रञ्जीतकार घाइते भएका छन् ।

रञ्जीतकारको टाउको फुटेको बताइएको छ । घाइते रञ्जीतकारलाई उपचारका लागि आन्दोलनकारीहरुले प्रहरीको घेरा तोड्दै अन्नपूर्ण न्यूरो अस्पताल लगेका छन् । पक्राउ परेका श्रेष्ठ नेवाः राजनीतिक अभियानका संयोजक हुन् ।

“शान्तिपूर्ण आन्दोलनमा प्रहरीले बर्बर दमन गर्यो । यो घटनाको हामी निन्दा गर्दछौं,” आन्दोलनरत नेपाल भाषा मङ्का खलःका सचिव नरेशवीर शाक्यले भने, “गुठी विधेयक संस्कृतिविरोधी, जनताविरोधी छ ।

यसरी दमन गरेर समस्या समाधान हुँदैन । दमन भयो भने थप सशक्त आन्दोलन हुन्छ । प्रतिकारमा उत्रन्छौं ।” आन्दोलनकारीमाथि प्रहरीले पानीको फोहरा चलाएपछि आन्दोलनकारी र प्रहरीबीच असामान्य अवस्था सिर्जना भएको थियो ।

आन्दोलनकारीहरुले भूमाफिया पोस्ने विधेयक खारेज गर, संस्कृतिमाथिको हस्तक्षेप बन्द गर लेखेका प्लेकार्डसहित प्रदर्शन गरेका थिए । २०७६ वैशाख १७ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सो विधेकयक राष्ट्रिय सभामा दर्ता गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *