Sajhamanch Archive

स्मार्ट पार्किङ सेवा आजबाट न्यूरोडमा सुरुवात

Published: in राष्ट्रिय समाचार, समाज by .

 काठमाडौँ। काठमाडौँ महानगरपालिकाको स्मार्ट पार्किङ प्रणाली सञ्चालनमा आउने भएको छ । केहि दिनअगाडि परीक्षणस्वरुप सुरुवात गरिएको सशुल्क स्मार्ट पार्किङ सेवा आइतबारबाट न्यूरोडमा सुरुवात गर्न लागिएको हो ।

स्मार्ट पार्किङ प्रणाली न्यूरोडका पाँच स्थान रामेश्वरम, विशाल बजार, खिचापोखरी, धर्मपथ र पाकोमा उपलब्ध हुने स्मार्ट पार्किङका सञ्चालक कम्पनी ह्विल्स ट्रुलीले जनाएको छ ।

तीन महिनाअघि स्मार्ट पार्किङ निर्माण र सञ्चालनको जिम्मेवारी पाएको ह्विल्स ट्रुलीका अनुसार उपलब्ध स्थानमा आठ सय बाइक र ६० वटा गाडी पार्किङ क्षमता रहेको छ ।

स्मार्ट पार्किङको लागि गुगल प्ले स्टोरमा गएर ‘पार्क केटिएम’ एप डाउनलोड गर्नुपर्छ । एपले पार्किङ स्पेस भए नभएको जानकारी दिएसँगै आफूलाई आवश्यक ठाउँ बुक गर्न सकिनेछ ।

पार्किङको लागि १५ मिनेट पहिले नै बुक गर्ने व्यवस्था मिलाइएको छ । यदि बुक गरेको १५ मिनेट भित्र पार्किङ नगरे बुकिङ रद्द हुने ह्विल्स ट्रुलीले जनाएको छ । बुकिङ गर्ने समयदेखि नै शुल्क लाग्ने र बुकिङ गर्दा गाडी वा मोटरसाइकल नम्बर पनि इन्ट्री गर्नुपर्नेछ । मोटरसाइकलको लागि एक घन्टाको २५ रुपैयाँ र गाडीको लागि ६० रुपैयाँ शुल्क लाग्नेछ ।

यसैगरी, दरबारमार्गमा यो प्रणाली १५ दिनभित्रै लागू हुने ह्विल्स ट्रुलीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *