Sajhamanch Archive

नेपाली स्याटेलाइटले पृथ्वीको चक्कर लाउन थाल्यो, दिनमा चार पटक नेपालको आकाशमा घुम्ने

Published: in विविधा by .

काठमाडाैँ  । चन्द्रसूर्यसहितको राष्ट्रिय झन्डा अंकित नेपालको पहिलो भूउपग्रह ‘नेपालीस्याट–वान’ अन्तरीक्षमा छोडिएको छ । अन्तर्राष्ट्रिय अन्तरीक्ष केन्द्र (आइएसएस)बाट नानो भूउपग्रह अन्तरीक्षमा छोडिएको हो ।

गत वैशाख ५ मा अमेरिकाबाट अन्तरिक्षमा प्रक्षेपण गरिएको नानो स्याटेलाइटले सफलतापूर्वक पृथ्वीको परिक्रमा सुरु गरेको हो । सोमबार दिउँसो ४ बजेर १९ मिनेटबाट नानो स्याटेलाइट ‘नेपालीस्याट-१’ अन्तरीक्षमा रिलिज हुँदै पृथ्वीको वरपर घुम्न सुरु गरेको नासाले जनाएको छ ।

जापानमा संयुक्त राष्ट्रसंघको फेलोसिपमा क्युशु इन्स्टीच्युट अफ टेक्नोलोजी (क्युटेक) मा भूउपग्रह प्रविधिमा पढ्दै गरेका विद्यार्थीले तयार गरेको यो स्याटेलाइट वैशाख ५ राति २ बजेर ३१ मिनेटमा प्रक्षेपण गरिएको थियो । यसलाई इन्जिनियरिङको पीएचडीका विद्यार्थी आभाष मास्के र स्नातकोत्तर तहका विद्यार्थी हरिराम श्रेष्ठले तयार पारेका हुन् ।

अमेरिकाको भर्जिनियामा अवस्थित वल्लोप्स द्वीपस्थित प्रक्षेपण केन्द्रबाट जापान र श्रीलंकाका नानो स्याटेलाइटँगै नेपालको स्याटेलाइट प्रक्षेपण भएको थियो ।

यो स्याटेलाइट १० सेन्टिमिटर लम्बाई, चौडाई र उचाई भएको छ । स्याटेलाइटमा नेपालको झण्डा छ भने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको लोगोसहित विद्यार्थीहरुको नाम पनि छ ।

यो एक किलो तीन सय ग्राम तौलको छ । यसमा सरकारले एक करोड ८२ लाख रुपैयाँ खर्चेको छ । अन्तरीक्षमा रिलिज भएपछि यसले अन्तरीक्षबाट तस्वीरसहितका डाटाहरु पठाउन थाल्नेछ । यसले मौसमी सूचनाहरु पनि दिन सक्छ ।

नेपाल वान भूउपग्रह पृथ्वीका सतहभन्दा चार सय किलोमिटरमाथि अन्तरीक्षमा रहनेछ । प्रत्येक ९० मिनेटमा पृथ्वीकाे एक चक्कर लगाउने यो भूउपग्रहले दैनिक १६ पटक पृथ्वीका परिक्रमा गर्नेछ । त्योमध्ये दैनिक चार पटक नेपालको आकाशमा आइपुग्नेछ ।

नेपालका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेपालको पहिलो नानो भूउपग्रह अन्तरीक्षमा छोड्ने अवसमा जापानमा आयोजित कार्यक्रममा सहभागिता जनाएका छन् ।

यो स्याटेलाइटबाट नेपालले भविष्यमा पठाउने ठूलो स्याटेलाइटको सञ्चालन कसरी गर्न सकिन्छ भनेर अनुभव पनि प्रदान गर्ने नेपाल वित्रान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)को भनाइ छ ।

नानो भूपग्रहमा फोटो खिच्न क्यामेरा जडान गरिएको छ । जसले अन्तरिक्षबाट खिचिएको फोटोहरु अध्ययन एवं प्रचारका लागि सञ्चार माध्यहरुलाई उपलब्ध गराउनेछ । दोस्रो लोरा डेमोस्ट्रेसन मिसनको काम गर्नेछ । अन्य संस्थाले बनाएको उपकरणमा कम ऊर्जामा कसरी सञ्चार गर्ने भनेर यसबाट परीक्षण हुनेछ ।

यो अध्ययन सफल भए भविष्यमा प्राकृतिक प्रकोपका बेला थोरै ऊर्जामा सञ्चार गर्न सक्ने गरी नयाँ प्रविधिको विकास हुनेछ । अन्तरीक्षमा नेपालीस्याट-वानको आयु ६ महिनादेखि एक वर्षसम्म हुने अनुमान छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *