Sajhamanch Archive

बिर्तामोडमा सहकारी बैंकको अन्तरक्रियाः दुई संस्था सम्मानित

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by .

झापा । राष्ट्रिय सहकारी बैंक बिर्तामोड शाखाले आफ्ना सदस्य सहकारी संस्थाहरुसँग आज बिर्तामोडमा अन्तरक्रिया गरेको छ ।

बैंकका सञ्चालक तथा एक नम्बर प्रदेश इन्चार्ज महेन्द्रकुमार गिरीको अध्यक्षतामा आयोजित अन्तरक्रियामा बैंकको परिचय, लक्ष्य, उद्देश्य तथा वित्तीय कारोबार बारे बिर्तामोड शाखा प्रमुख मुना घिमिरेले प्रस्तुति गरेकी थिइन् ।

मुलुकभरका १० हजार ९०७ वटा सहकारी संघ–संस्था शेयर सदस्य रहेको बैंकमा जेठ मसान्तमा १ अर्ब ४८ करोड रुपैयाँ शेयर पूँजी रहेको घिमिरेले जनाइन् । देशभर ४४ वटा शाखामार्फत् सेवा प्रवाह गरिरहेको बैंकमा २१ अर्ब निक्षेप जम्मा रहेको तथा १८ अर्ब ऋण लगानी गरिएको प्रस्तुतिमा देखाइएको थियो ।

चालू आर्थिक वर्षको ११ महिनामा ३७ करोड मुनाफा आर्जन गरिसकेको बैंकले बिर्तामोड शाखाबाट मात्र दुई करोड ३४ लाख नाफा कमाएको शाखा प्रमुख घिमिरेले बताइन् ।

अन्तरक्रियामा बैंकका सदस्य संस्थाका प्रतिनिधिहरुले कर्जा लगानी गरिसकेपछि त्यसको सदुपयोगिता नजाँचिएको, विश्लेषण नगरिएको, कर्जा माग गर्दा हुन्छ भनेर कागजात मगाउने तर मागेजति ऋण नदिने गरिएको गुनासो राखेका छन् ।

यस्तै संस्थाको बचत काउन्टरबाटै निक्षेप संकलन गर्ने भनी सदस्य बनाइए पनि सेवा नदिइएको, वैदेशिक तालिम दिलाएकाहरुबाट बैंकले के प्रतिफल पायो आदि प्रश्नहरु राखेका थिए ।

बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीको प्रमुख आतिथ्यमा आयोजित अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय सहकारी बैंकको बिर्तामोड शाखामार्फत् उत्कृष्ट कारोबार गर्ने दुईवटा सहकारी संस्थालाई सम्मानपत्र प्रदान गरिएको छ ।

सम्मानित हुने संस्थाहरु धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्था बिर्तामोड र नेपाल बहुउद्देश्यीय सहकारी संस्था मेचीनगर रहेका छन् । दुवै संस्थाका अध्यक्ष तथा सञ्चालकहरुलाई नगरप्रमुख शिवाकोटी, राष्ट्रिय सहकारी बैंकका निवर्तमान अध्यक्ष रमेशकुमार पोखरेल, सञ्चालक गिरीलगायतले दोसल्लासहित सम्मानपत्र प्रदान गरे ।

अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि शिवाकोटी, एनएमसीका अध्यक्ष रामचन्द्र उप्रेती, बैंकका निवर्तमान अध्यक्ष रमेशकुमार पोखरेल, जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाल, बिर्तामोड नगरपालिकाका सहकारी अधिकृत डिल्ली दाहाल लगायतले आफ्ना धारणा राखेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *