सिम्रिकका सदस्यलाई उपचार राहत प्रदान
Published:
by .मेचीनगर । सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिर्तामोडले आफ्नो धुलाबारी शाखा अन्तरगतका शेयर सदस्यहरुलाई आज उपचार राहत प्रदान गरेको छ ।
संस्थाको सदस्य उपचार राहत नीति बमोजिम आफ्ना चारजना सदस्यलाई विभिन्न रोगको उपचारका लागि राहत रकम प्रदान गरेको हो । संस्थाका विभागीय प्रमुख विजय बस्नेत, धुलाबारी शाखा प्रमुख अञ्जु प्रधानसहित कर्मचारीहरुको टोलीले बिरामीहरुको घरमै गएर उपचार राहत प्रदान गरेका हुन् ।
सिम्रिकका सेयर सदस्य सविता खबासको पेटको शल्यक्रिया गरिएकाले उपचार सहयोग वापत १२ हजार ८२५ रुपैयाँ प्रदान गरिएको छ भने लक्ष्मनिया दनुवारको उपचारमा पाँच हजार ८०९ रुपैयाँ प्रदान गरिएको शाखा प्रमुख प्रधानले जानकारी दिइन् ।
यस्तै सेयर सदस्य पुनम दनुवारको छोरी बिरामी भएकाले उपचार सहयोग वापत दुई हजार ४०२ र सेयर सदस्य सन्तोष मेचेको खुट्टाको औंला भाँचिएकाले उपचार सहयोगार्थ दुई हजार रुपैयाँ प्रदान गरिएको हो ।
अर्का शेयर सदस्य सितादेवी साहाको असामयिक निधनप्रति शोक व्यक्त गर्दै सिम्रिक सहकारीको टोलीले मृतक परिवारका दिपनारायण साहालाई समवेदना पत्र प्रदान गरेको छ । मृतक साहाको परिवारलाई यसअघि नै सदस्य उपचार सुविधा प्रदान गरिसकिएको विभागीय प्रमुख बस्नेतले जानकारी दिए ।
Comments