Sajhamanch Archive

अद्भूत क्षमताका राजनीतिज्ञ मदन भण्डारीको जन्मदिन[जन्मदेखि मृत्युसम्मको नालिबेली]

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज by .

काठमाडौ । नेपालको राजनीतिनमा मदन भण्डारी एक आर्दश नाम हो । भण्डारी नेपालका राजनीतिज्ञ तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) का नेता हुनुहुन्थ्यो । आज उहाँको ६७ औ जन्मजयन्ती देश विदेशमा विभिन्न कार्यक्रम आयोजना गरेर मनाइदैछ । जनआन्दोलन २०४६ मा बाम मोर्चाबाट सकृय रहेका भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी–लेनिनवादी) र मनमोहन अधिकारीद्धारा नेतृत्व गरिएको नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी) लाई एकीकरण गरी नेकपा (एमाले) गठन गर्न महत्त्वपूर्ण भूमिका खेल्नु भएको थियो ।

उहाँले प्रतिपादन गरेको बहुदलीय जनवादको नीति पछ्याउँदै नेकपा (एमाले) बहुलबादी राजनीतिमा अगाडि बढी आम निर्वाचन २०४८ मा भाग लिई देशको प्रमुख प्रतिपक्षको रूपमा स्थापित भएको थियो । लेनिनले सबैभन्दा पहिला संसारमा स्थापित गरेको सोभियत समाजवाद असफल भएर विश्व कम्यूनिष्ट आन्दोलनले गम्भीर धक्का खाएको बेलामा पनि माक्र्सवादको सिर्जनात्मक प्रयोग गर्दै नेपालमा जनताको बहुदलीय जनवादको सिद्धान्त प्रतिपादन गर्ने श्रय उहाँलाई नै जान्छ ।

मदनकुमार भण्डारीको जन्म २००९ साल आषाढ १४ गते पूर्वाञ्चलको ताप्लेजुङ जिल्लाको ढुङ्गेसाँघुमा भएको हो । पिता देवीप्रसाद भण्डारी र माता चन्द्र कुमारीको माहिला छोराको रूपमा क्षेत्री परिवारमा भण्डारीको जन्म भयो । उहाँको प्रारम्भिक शिक्षा जन्मथलोबाटै सुरू भयो । वि.स. २०१५ साल गाउँ मै एउटा हिउँदे पाठशाला (जुन वर्षायाममा बन्द हुन्थ्यो) बाट औपचारिक शिक्षातर्फ प्रवेश गर्ने भण्डारी अप्ठेरा पाठहरू भए पनि दुईपटक आफ्नो कानमा परेपछि सधैँका लागि कण्ठ गर्नसक्ने र बाल्यकाल मै चण्डी कण्ठाग्र गर्ने गर्नाले उनी जिल्लाभर चर्चित हुनुभयो । यद्यपि उहाँले अक्षरहरू चिनिसक्नु भएको थिएन । उहाँका बुबा गाउँका थराना गर्ने (गाउँलेहरूले दिएको सुब्बाको मान) पाएकाले माया पाए, दुःख भएन । हिलो धूलोमा पढ्न पनि परेन । वि.स. २०२३ मा गाउँमा उपलब्ध पढाई सक्नुभयो ।

२०२४ सालमा उहाँको परिवार ताप्लेजुङबाट मोरङको इटहरामा सर्यो । उहाँ भारतको मथुरामा अध्ययन गर्न जानुभयो । दुई वर्ष मथुरामा बिताएपछि २०२८ मा देहरादुनबाट बनारस पुग्नुभएका भण्डारीले २०२३ सालमा बनारस विश्वविद्यालयबाट भाषा साहित्यमा स्नातकोत्तर गर्नुभयो । २०२८ सालमा पुष्पलालसँगको भेटपछि उहाँ राजनीतिमा लाग्नु भएको हो । २०२९ सालमा पुष्पलालको पार्टीले जनवादी सांस्कृतिक मोर्चाको निर्माण गर्यो । त्यसको अध्यक्षमा युद्धप्रसाद मिश्र र महासचिव मोदनाथ प्रश्रीत थिए भने भण्डारी केन्द्रीय सदस्य हुनुहुन्थ्यो । २०३० सालमा पार्टीको पूर्णकालीन कार्यकर्ता हुनुभयो ।

अन्याय सहन नसक्ने उहाँको आफ्नै खालको बिद्रोही स्वभाव, विषयवस्तुको उच्चतम् ज्ञानको आधार, साहित्य र सिर्जना मार्फत नविन चिन्तनको विकासले उहाँलाई बनारसमा सङ्गठित रूपमा क्रियाशील राजनीतिककर्मीहरूसँग नजीकिने वातावरण बनायो । २०३३ सालमा मुक्तिमोर्चा समूहको निर्माण गरियो । त्यसको निर्माणमा सक्रिय रहेका नेताहरू पुष्पलालको पार्टीसँग विद्रोह गरी २०३४ सालमा नेकपा (माले) को स्थापना हुनुभन्दा पूर्वको ‘को–अर्डीनेशन केन्द्र’ मा आवद्ध भई ‘मुक्तिमोर्चा समूह’ लाई नै त्यसमा विलय गराइयो । २०३५ सालमा नेकपा (माले) स्थापना भयो र भण्डारी केन्द्रिय सदस्य बन्नुभयो । २०४१ साल वैशाखमा भण्डारी पार्टीको पोलिटब्युरो सदस्य र २०४६ सालमा नेकपा (एमाले) को चौथो महाधिवेशनबाट महासचिव बन्नुभयो । २०४७ सालमा भूमिगत जीवनबाट बाहिर आई माले–माक्र्सवादी एकीकरणबाट उहाँ नेपाल कम्युनिष्ट पार्टी (एकिकृत मार्क्सवादी–लेनिनवादी) को महासचिव बन्नुभयो ।

२०४८ सालको संसदीय निर्वाचनमा नेकाका तत्कालीन सभापति एवम् अन्तरिम प्रधामन्त्री कृष्णप्रसाद भट्टराईलाई परास्त गरी काठमाडौं क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभयो । उहाँको विवाह २०३९ सालमा विद्या पाण्डे (वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी) सँग भयो । उहाँहरूबाट उषाकिरण र निशाकुसुम नामका दुइटी छोरीहरू छन् । बहुदलीय जनवादका ब्याख्याता भण्डारीको २०५० जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमय दुर्घटनामा मृत्यु भएको थियो ।

जीवराज आश्रितको मृत अवस्थामै गाडीमै शव भेटिएको थियो भने मदन भण्डारीको घटनास्थलदेखि धेरै तल नारायणी नदी किनारमा तिन दिन पछि शव भेटिएको थियो । यो घटनाको छानबिन गर्न धेरै आयोग बनेपनि तीनले पनि वास्तविकता बाहिर ल्याउन सकेनन् । उहाँको अहिले पनि दुर्घटनामा ज्यान गएको हो वा केही षड्यन्त्र हो भन्ने खुल्न सकेको छैन । अर्को अनौठो के भने भण्डारीको गाडी चलाउने चालक भने जिउँदै थिए तर पछि उनले पनि घटनाका बारेमा सत्यतथ्य बाहिर नआउँदै जीवन त्याग्नु पर्यो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *