Sajhamanch Archive

गाडी खोलामा पुग्ने वित्तिकै एक्‍कासी भेल आउँदा…

Published: in राष्ट्रिय समाचार, विविधा by .

ताप्लेजुङ । शनिबार बिहान यात्रु लिएर फुङलिङबाट फक्ताङलुङ गाउँपालिकाको केन्द्र तापेथोक हिँडेका चालक नविन खवास तावा खोलामा रोकिए। झमझम पानी परिहेको थियो। खोलामा पानी सामान्य नै थियो। सदाझैं सम्झेर गाडी अघि बढाए। खोलाको बीचमा पुगेपछि स्टार्ट बन्द भयो।स्टार्ट गर्न के खोज्दै थिए, माथिबाट एक्‍कासी भेल आएर गाडी हल्लाउन थाल्यो ।

‘यात्रुलाई झ्यालबाट छतमा चढ्न भने, आफू पनि गाडीको माथि चढें,’ खवासले भनें, ‘छतबाट हाम फालेर धन्न बाच्यौं।’ भेलले सिट बगाए पनि गाडी नबगाएको यात्रु मनकुमार लिम्बूले सुनाए। ‘सिट बगाइहाल्यो, फाँटिलो ठाउँ भएकाले गाडीचाहीँ बगेन,’ लिम्बू भन्छन्, ‘अर्को ट्याक्सीले तानेर दुई घण्टामा बल्लबल्ल भेलबाट बाहिर निकाल्न सफल भयौं।’

सोमबार मिक्वाखोलाको लिवाङबाट फुङलिङ आउँदै गरेका चालक विक्रम राईंले पनि यस्तै समस्या भोग्नु पर्‍यो। उनी फुङलिङ-९ को हिरेवाखोला बगरमा चारैतिरबाट भेलले घेरिए। ‘पानी ठूलो परेकाले खोलामा बाढी आउँदैरहेछ,’ उनले भने, ‘धन्न बीचमा अलि अग्लो ठाउँ रहेछ, त्यहिँ बस्यौं र पानी घटेपछि तरेर बाँच्न सफल भयौं।’

यस्तो समस्या जिल्लाबाट ग्रामिण क्षेत्रमा सवारी चलाउने हरेक चालकले भोग्नुपर्छ ।सबै स्थानीय तहको केन्द्रसम्म हिउँदमा सहजै गाडी पुगेपनि वर्षामा भने ठाडा खोला र पहिरो बाधक बन्ने गरेको छ।

फक्ताङलुङ गाउँपालिकाको केन्द्र तापेथोक पुग्नतावासहितयाफ्रे, सिस्ने, हाङ्देवा, हिरेवा, मयाम, ताप्मावाखोला,सिरिजंघा गाउँपालिकाको केन्द्र तेल्लोक पुग्नहप्पुखोला, मैवाखोलाको साँघु पुग्नमाङ्माया खोला, केनिम खोला, भाँडी खोलामा एक्कासी ठूलो भेल आउँदा ज्यान जोखिममा रहेको चालक सुजन गिरी बताउँछन्।

यातायात व्यावसायी प्रेम लंवाकाअनुसार ग्रामिण सडकमा यात्रा गर्दा सय बढी साना-ठूला ठाडा खोला पार गर्नुपर्छ। तल्लो क्षेत्रमा मौसम सामान्य रहेपनि लेकमा पानी पर्दा खोलामा एक्कासी बाढी आउँछ।

‘भर्खर ट्रयाक खुलेको सडकमा तत्काल पुल बन्ने सम्भावना छैन,’लंवाले भने, ‘बर्खायाममा प्रत्येक खोलामा चालकले जोखिम मोलेर सवारी चलाउनुपर्ने अवस्था छ।’

सडकमाथिबाट पहिरो, ढिस्को र ढुंगा खसेर कुदिरहेको गाडीलाई नै किच्ने जोखिम रहेको चालक गिरीको भनाई छ। नयाँ खोलिएको ट्रयाक सामान्य पानी पर्नासाथ हिलाम्मे हुने गरेको छ।बर्खामा कुटो, कोदालो, गल, पाल, मार्तलजस्ता बाटो निर्माणका सामग्री गाडीमै राखेर हिँड्ने गरेको चालक केशव लिम्बू बताउँछन्।

‘हिउँदमा सदरमुकामबाट कम्तिमा दुईदेखि चारघण्टामा सबै स्थानीय तहको केन्द्रसम्म पुग्न सकिन्छ,’ चालक लिम्बूले भने, ‘बर्खामा कति समय लाग्छ भन्ने एकिन नै हुँदैन।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *