जिल्लाभर एनएमसीको समावेशी तीज
Published:
by .झापा । हरेक वर्ष नेपाल बहुउद्देश्यीय सहकारी संस्था झापाले आयोजना गर्ने समावेशी तीज कार्यक्रम यो वर्ष गौरीगञ्ज, दुर्गापुर र शिवगञ्जमा मनाइएको छ ।
भदौ १०, ११ र १२ गते तीनस्थानमा भेलाभई एनएमसीका महिला सदस्यहरुले मनोरञ्जन लिएका हुन् । एनएमसीका सेवाकेन्द्र दूधे, केर्खा र शिवगञ्जको संयुक्त तीज मिलन कार्यक्रम शिवसताक्षीका वडा नं. ४ स्थित जनता बजारमा आज १२ गते मनाएको हो । महिलाहरुको महान चाडको रुपमा एनएमसी सदस्यरुलाई संस्थाले विभिन्न सांगीतिक कार्यक्रम गर्दै दर खुवाएको छ ।
एनएमसी अध्यक्ष रामचन्द्र उप्रेतीले तीजलाई चेली माइती भेट गरेर मनाउने पुरानो चलन भएको बताए । पछिल्लो समय यसलाई एनएमसीले समावेशीरुपमा उत्सव मनाउने प्रचलन ल्याएको जानकारी पनि गराए ।
एनएमसी एउटा सहकारी संस्था भएकाले यहाँ जात, भाषा, धर्म, संस्कृतिको सम्मान हुने र कहीँ कसैलाई विभेद नगरिने अध्यक्ष उप्रेतीको भनाई छ । हाल झापाभित्र ७० हजार ५०० सदस्य रहेको एउटा समावेशी परिवारको रुपमा एनएमसी रहेको बताउँदै अध्यक्ष उप्रेतीले महिला सदस्यहरु मात्रै ३७ हजारको हाराहारीमा रहेको प्रष्ट पारेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि शिवसताक्षी नगरपालिकाका उपप्रमुख भोजकुमारी नेपालले सहकारीको माध्यमबाट धेरै किसानले आफ्नो जीवनस्तरमा सुधार ल्याएको बताइन् । झापालाई मात्रै हेर्ने हो भने सहकारीले बेरोजगारीको एउटा ठूलो हिस्सालाई रोजगार दिएको छ ।
उनले सहकारीले केही हदसम्म बेरोजगारी समस्या समेत हल गर्न पुगेको जनाइन् ।
यसैगरी हिजो दुर्गापुरमा समावेशी तीज कार्यक्रम गरिएको छ । दुर्गापुरमा आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले हरेकवर्ष समावेशी तीज कार्यक्रमको आयोजना गरिनाले महिला सशक्तिकरणमा बल पुगेको बताए । संस्थामा अहिले ५२ प्रतिशत हाराहारी शेयर सदस्य रहनु तथा महिला बचतको छुट्टै कार्यक्रम अघिसारेर ब्याजमा पनि विशेष व्यवस्था गरिँदा संस्थाप्रति महिलाको विशेष आकर्षण रहेको स्पष्ट पारे ।
गौरीगंज गाउँपालिका वार्ड नं ६ खजुरगाछीमा रहेको शिवालय मन्दिरमा भदौ १० गते आयोजना गरिएको समावेशी तीज मिलन कार्यक्रममा विभिन्न जातीय भेषभुषामा सजिएर आएका महिलाले तीज गीतहरूमा सामुहिक नृत्य गरे ।
गौरीगंज गाउँपालिकाका उपाध्यक्ष दिपेन्द्र थापाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा सहकारीको परिचय, वित्तीय कारोबार अनि तीज जस्ता सांस्कृतिक पर्वका बारेमा चर्चा गरिएको थियो ।
महिला सशक्तिकरण समितिका संयोजक हेमा सिटौलाको अध्यक्षतामा आयोजित समावेशी तीज कार्यक्रममा संस्थाका उपाध्यक्ष भगवती घिमिरे, प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेती, सञ्चालक सदस्य सावित्रा दाहाल, दुर्गाप्रसाद भट्टराईलगायतले बोलेका थिए ।
सो अवसरमा संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीले एनएमसीको बारेमा प्रकाश पारेका थिए । देशभर करिब ३५ हजार सहकारीमध्ये प्रदेश १ मा सबैभन्दा उत्कृष्ट सहकारीरूपमा एनएमसीलाई घोषणा गरेर सरकारले पुरस्कृत गरेको बताए ।
एनएमसीले बैंकिङ्ग सेवा, डेरी व्यवसाय, नमूना कृषि परियोजना र कोअप सप सञ्चालन गरिरहेको बताए । हाल संस्थामा ७० हजार सदस्य संख्या रहेको एनएमसीमा गत आर्थिक वर्षमा २२ करोड रूपैयाँ भन्दा बढी मुनाफा गरेको उप्रेतीले बताए ।
Comments