Sajhamanch Archive

वडाध्यक्ष कार्की र राजवंशीसहित दर्जनौं कर्मचारीलाई नागरिकता मुद्धा, पक्राउ पुर्जी जारी

Published: in राष्ट्रिय समाचार, लोकप्रिय, समाज by .

भद्रपुर । जिल्ला प्रहरी कार्यालय झापाले कागजात किर्ते गरी गैरनेपालीलाई नागरिकता दिएको आरोपमा बिर्तामोड नगरपालिका वडा नं. ८ का अध्यक्ष अजय कार्की, भद्रपुर–९ का अध्यक्ष शनिलाल राजवंशीसहित दर्जनौंलाई पक्राउ पुर्जी जारी गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गरी किर्ते कागजात बनाएर नागरिकता दिने जनप्रतिनिधिसहित कर्मचारीहरुलाई पक्राउ पूर्जी काटिसकेको जानकारी दिएको हो । सरकारी छाप र दस्तखत किर्ते गरेर १६ गैर नेपालीलाई नागरिकता दिएको अनुसन्धानबाट खुलेपछि प्रहरीले सो कार्यमा संलग्नहरुलाई पक्राउ गर्न थालेको हो ।

सो घटनामा संलग्नहरु बिर्तामोड ५ का टेकबहादुर गुरुङ, जिल्ला प्रशासन कार्यालय झापाका तत्कालिन खरिदार तेजिन्द्र न्यौपाने, भद्रपुर १० का प्रेम तिम्सिना, भद्रपुर १० का भीमबहादुर लिम्बू र बिर्तामोड ८ का तत्कालिन वडासचिव लोकराज बराल पक्राउ परिसकेका छन् भने बाँकी फरार रहेको प्रहरीले बताएको छ ।

प्रहरीले जिल्ला प्रशासन कार्यालय झापाका प्रशासकीय अधिकृत गौरव ढुङ्गेल, चूडाराज भट्टराई, टोली प्रमुख नारायण काफ्ले, चिरञ्जिवी अधिकारी, भद्रपुर ९ का वडासचिव अरुणा भट्टराई, जिल्ला प्रशासनका तत्कालिन नायव सुब्बा मेघराज निरौला र बाहुनडाँगी एवम् शरणामतीका तत्कालिन गाविस सञ्चालक समिति अध्यक्ष भवकृष्ण न्यौपानेलाई पक्राउका लागि पुर्जी जारी गरेको हो ।

केन्द्रीय अनुसन्धान व्यूरोले हेरेको यस घटनामा जनप्रतिनिधि, सरकारी कर्मचारी र दलाल संलग्न भएको पाइएको प्रहरीको भनाई छ । प्रहरीका अनुसार हालसम्मको अनुसन्धानमा ५२ जना दोषी देखिएका छन् ।

विप्लपका ८ जना कार्यकर्ता (!) पक्राउ

झापा प्रहरीले मंगलबार पत्रकार सम्मेलन गर्दै विभिन्न स्थानमा बम आतंक मच्चाउने, चन्दा उठाउने विप्लप समूहका ८ जना नेता कार्यकर्तालाई पक्राउ गरेको बताएको छ । बम बनाउने विप्लप समूहका मुख्य कार्यकर्तालाई प्रहरीले बिर्तामोडबाटै पक्राउ गरेको प्रहरी प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिए ।

सोमबार बेलुका बिर्तामोड–४ स्थित विधुत प्राधिकरण पछाडि रहेको एक घरमा डेरा गरी बस्दै आएका मकवानपुर भीमफेदी गाउँपालिका २ का अनुल सारु मगरलाई प्रदेश प्रहरीको सहयोगमा झापा प्रहरीले पक्राउ गरेको हो ।

स्रोतका अनुसार मगर पूर्व क्षेत्रमा बम बनाउन खटिएका थिए । प्रहरीले सोमबार बिहान पक्राउ गरेको जिल्ला सेक्रेटरी प्रविन मिश्र र जिल्ला सदस्य टिका पोखरेलसँगै मगरसमेत बस्दै आएको अनुसन्धानबाट खुलेको छ ।

उनीहरुमध्ये मगर विप्लप समूहको पूर्व क्षेत्रमा बम बनाउने र प्राविधिकको रुपमा काम गर्दै आएका थिए । प्रहरीले बिहान सेक्रेटरी पक्राउ गरेपछि उनीहरुसँगै बस्ने मगर र ठाउँ मोवाइल ट्रेकिङ मार्फत पत्ता लगाएको थियो ।

सोही क्रममा मगरको साथबाट प्रहरीले कटुवा पेस्तोल २ थान, त्यसमा प्रयोग हुने ४ राउण्ड गोली, मोबाइल फोन ५ थान र पार्टीको दस्तावेज, पार्टी सदस्यता पत्र, विभिन्न चन्दा रसिद प्याडहरु बरामद गरेको जनाएको छ ।

झापा जिल्लाभर आतंकित बनाउने विप्लप समूहको मुख्य समूह पक्राउ गरेको झापा प्रहरीको दावी छ । सबै ठाउँमा भएको बम आतंक यही समूहको परिचालनबाट भएको प्रहरीको भनाई छ ।

पछिल्लो पटक विप्लप समूहले सहारा नेपाल चारपाने र गौरादह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चढ्ने स्करपियोमा बम विस्फोट गराएको थिए । सहारा नेपालसँग सो समूहले आर्थिक सहयोग माग गरेको बुझिएको छ ।

बिर्तामोडमा डेरा गरी बस्दै आएका विप्लप समूहका झापा सेक्रेटरी मिश्र, जिल्ला सदस्य पोखरेल सडक विभागको ठेकेदार र मगरले जापानिज भाषा सिक्न बसेको भन्दै ढाँटेर बस्दै आएका थिए । शंका लागेर घरधनीले उनीहरुलाइृ केही समययता घर खाली गरिदिन समेत भनेको जानकारी आएको छ । उनीहर विरुद्ध राज्य विरुद्धको कसुर, संगठित अपराध र विस्फोटक पदार्थ चन्दा शिर्षकमा मुद्दा दर्ता भएको छ ।

यससँगै बिर्तामोड ८ स्थित संयुक्त वडा कार्यालयमा बम विस्फोट गराउने विप्लब समूहको सदस्य पाँचथर जिल्लाको जिल्ला ईन्चार्ज ताप्लेजुङ त्रिवेणी गाउँपालिका वडा नं. ३ पञ्चमी टोलका राजु दास, ताप्लेजुङ सिद्धिङबा गाउँपालिका वडा नं. ४ वस्ने वर्ष ३५ को सकल भन्ने सागर लिम्बु , मेची ब्यूरो समन्वय समितिको अध्यक्ष साथै केन्द्रीय सदस्य जिल्ला ताप्लेजुङ त्रिवेणी गाउँपालिका वडा नं. ५ दोभान गाँउ वस्ने सन्देश भन्ने गणेश कार्कीढोलीलगायतलाई प्रहरीले पक्राउ गरी मुद्दा दर्ता गराएको जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *