लाप्राक नमुना बस्ती हस्तान्तरणको अन्तिम तयारी
Published:
by .गोरखा । लाप्राकको गुप्सीपाखामा बन्दै गरेको एकीकृत नमुना बस्तीका घर लाभग्राहीलाई हस्तान्तरण गर्ने प्रक्रिया सुरु भएको छ ।
लाभग्राही छनोट गरी जग्गाको लालपूर्जासहित घर हस्तान्तरणको लागि अन्तिम चरणको काम सुरु भएको हो ।५ सय ७३ लाभग्राहीका लागि घर निर्माण गरिए पनि अहिले लाभग्राहीको संख्या हेरफेर भएको हुन सक्ने भएकाले अन्तिम छनोट थालिएको हो ।
अन्तिम लाभग्राही छनोटको काम धार्चे गाउँपालिकाले गरिरहेको छ । ‘त्यसका लागि धार्चे–४ का वडाध्यक्ष राज गुरुङको संयोजकत्वमा समिति बनाइएको छ’ गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले भन्ने, ‘यो समितिले कात्तिक २३ गतेसम्ममा अन्तिम लाभग्राहीको टुंगो लगाउँछ ।’ बस्ती निर्माण सुरु गर्दा कायम भएका लाभग्राहीको संख्या अहिले थपघट भएको हुन सक्ने भएकाले फेरि लाभग्राही यकिन गर्नुपरेको अध्यक्ष गुरुङले बताए ।
अन्यत्र घरजग्गा नभएकालाई मात्रै अब लाभग्राहीको सूचीमा राखिनेछ । वास्तविक लाभग्राही यकिन भैसकेपछि उनीहरुको नाममा लालपूर्जा बनाउने काम सुरु हुने पुनर्निर्माण प्राधिकरण अन्तर्गतको अनुदान ब्यवस्थापन तथा स्थानीय पूर्वाधार इकाई गोरखाका प्रमुख रामशरण आचार्यले बताए ।
‘लालपूर्जा हस्तान्तरणका लागि जग्गा कित्ताकाटको काम अन्तिम चरणमा पुगिसकेको छ, फिल्डको काम सकेर अहिले ‘टेवल वर्क’ भैरहेको छ’ उनले भने, ‘ब्यक्तिगतसहित स्वास्थ्य चौकी, विद्यालयको जग्गाको पनि कित्ताकाटको काम भैरहेको छ ।’ हरेक लाभग्राहीले ३ आना दुई पैसा जग्गाको लालपूर्जा पाउने छन् ।
लालपूर्जा पाए पनि उनीहरुले १० वर्षसम्म घरजग्गा बिक्री गर्न भने पाउने छैनन् । परिवारमा स्वत हस्तान्तरण हुने बाहेक घरजग्गा बिक्री गर्न नपाइने इकाईका प्रमुख आचार्यले जानकारी दिए । धार्चे गाउँपालिका वडा नम्बर ४ लाप्राकको गुप्सीपाखाको १८ दशमलव ३२ हेक्टर क्षेत्रफल जग्गामा लाप्राकका भूकम्पपीडितहरुका लागि घर निर्माण भइरहेको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए)ले बस्ती निर्माण थालेको हो । ५ सय ७३ जनाका लागि त्यतिनै संख्यामा घर निर्माण गरिएको छ । अहिले घरको शौचालय निर्माणको काम भैरहेको छ । त्यसपछि माथिल्लो तल्लामा काठ राख्ने काम सकिएपछि घर हस्तान्तरण गर्ने एनआरएनएको तयारी छ ।
घर निर्माण बाहेक बस्ती आसपासको बाटो, सिँढी र नाला निर्माणलगायतको काम धार्चे गाउँपालिकाले गर्नेछ । त्यसको लागत भने गैरआवासीय नेपाली संघले नै गर्ने गरी सम्झौता भएको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले बताए । संघका नवनिर्वाचित अध्यक्ष कुमार पन्तले अबको दुई महिनाभित्र घर निर्माण पूरा गरी हस्तान्तरण गर्ने बताए ।
Comments