Sajhamanch Archive

काठमाडौंका सडकमा खाल्डा नदेखियुन्ः प्रधानमन्त्री ओली

Published: in राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक मन्त्रालयले विकासमा सहकार्य र सहउपयोगको नीति लिएर कामको योजना बनाउन मन्त्री र सचिवहरुलाई आज निर्देशन दिएका छन् ।

मन्त्रिपरिषद्को पुनर्गठनपछि बिहीवार पहिलो पटक मन्त्री र सचिवहरुलाई निर्देशन दिंदै प्रधानमन्त्री ओलीले हरेक मन्त्रालयले आफ्नो मातहतका कामको स्थितिबारे अबको चार दिनभित्रमा रिपोर्ट तयार गर्न पनि निर्देशन गरेका छन् ।

‘पहिले सडक पिच गर्ने, अनि पोल गाड्न अर्काे निकाय सडक भत्काउन जाने, भत्केको सडक जस्ताको तस्तै छोड्ने । अब यस्तो चल्दैन’ प्रधानमन्त्री ओलीको भनाई छ, ‘भत्काउनु अघि कहिलेसम्म निर्माण भइसक्छ, स्पष्ट योजना बनाउनु पर्यो । अब हरेक मन्त्रीले विकासमा सहकार्य मात्रै होइन सह उपयोगको नीति अपनाउनु पर्यो ।’

विकासका लागि सरकारको समथ्र्यमाथि जनताको विश्वास रहे पनि तत्परतामाथि अविश्वास उत्पन्न रहने गरेको बताउँदै प्रधानमन्त्री ओलीले तत्परता अपनाउन पनि सबै मन्त्री र सचिवहरुलाई निर्देशन दिए । ‘सरकारले चाहेपछि त एक हप्तामा सडक चिल्लो हुँदोरहेछ नि भनेर जनताले भनिरहेका छन्’ प्रधानमन्त्री ओलीको भनाई छ, ‘एक हप्तामा सबै चिटिक्क पार्न सक्नेले सधैं चिटिक्क पार्न किन तत्परता नअपनाउने ?’

आगामी फागुनमा हुने आर्थिक वर्षको दोस्रो चौमासिक समीक्षाका बेलासम्म काठमाडौं उपत्यकाका सडकमा खाल्डा देखिन नहुने प्रधानमन्त्रीको स्पष्ट निर्देशन छ । ‘दोस्रो चौमासिक समीक्षाका बेलासम्म काठमाडौं उपत्यकाका कुनै पनि सडक बन्न बाँकी छन्, कतै खाल्डा छन् भन्ने देखिनु हुँदैन’ ओलीको भनाई छ, ‘विकास निर्माण भइरहेका ठाउँमा धुलो उड्नु स्वाभाविक हो, जहाँ निर्माण कार्य भइरहेको छैन, त्यहाँ धुलो उड्नु हुँदैन ।’

प्रधानमन्त्री ओलीले कार्यसम्पादनका क्रममा लोभ गर्ने र मिलाएर आम्दानी गर्ने प्रवृत्ति देखिए सिधै कारवाहीको भागिदार हुने पनि चेतावनी दिएका छन् । ‘विकास आयोजनामा सही गर्ने बेला फलानालाई प्रधानमन्त्रीलाई दिनुपर्छ भनेर कसैले भन्छ भने, त्यो नेपाललाई गरिवीबाट मुक्त गर्ने यो सरकारको नीति विपरित काम गर्दैछ भन्ने स्पष्ट बुझे हुन्छ ।’

प्रधानमन्त्री ओलीले थपे, ‘प्रधानमन्त्रीलाई केही चाहिँदैन, तपाईंहरुलाई पनि गाडी छ, राम्रो तलव छ । यति धेरै सुविधा पाउने भाग्यमानी हुनुहुन्छ, यो भन्दा बढी के चाहियो ? यदि कसैले लोभ गरेर तलमाथि गरे कारवाही हुन्छ, मैले अनुगमन गरिरहेको हुन्छु ।’

सरकारको कामप्रति हुने विरोध तीन प्रकारका रहेको बताउँदै प्रधानमन्त्री ओलीले आफ्नो कार्यसम्पादनमा भएको कमजोरीमाथि हुने विरोधलाई स्वीकार गर्न तर, वैचारिक पूर्वाग्रह र राजनीतिक प्रतिशोधले गरिने विरोधप्रति वास्ता नगर्न आग्रह गरेका छन् ।

‘हामीले काम गर्दा केही कमजोरी भएर विरोध भए त्यसलाई तुरुन्तै सच्याउनुस्’ प्रधानमन्त्री ओलीले मन्त्री र सचिवहरु समक्ष निर्देशन दिँदै भने, ‘विचार दर्शन मन नपरेर वैचारिक पूर्वाग्रहले गरिएका विरोध र राजनीतिक प्रतिशोधले भ्रम छरेर गरिने विरोधसँग डराउनु पर्दैन । काम गर्दै जाँदा विरोध गर्नेहरु नै आफैं थाक्छन् ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *