पार्टी एकतालाई अझ सुदृढीकरण गर्नुपर्ने नेकपा नेताहरुको धारणा
Published:
by .काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको चौथो बैठक अन्तरगत आज तेस्रो दिन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि छलफल भएको केन्द्रीय प्रचार विभागले जनाएको छ ।
आज पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकमा अध्यक्षद्वयको प्रतिवेदनसहित महासचिव विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्तावहरु माथि पनि स्थायी कमिटीका सदस्यहरुले प्रतिवेदन र संशोधन प्रस्ताव मूलतः सही रहेको धारणा राख्दै थप परिमार्जन र सुधारका लागि सुझाव र आलोचनात्मक टिप्पणी गर्नेक्रम जारी रहेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाएका छन् ।
बैठक पछि प्रेस वक्तव्य जारी गर्दै प्रवक्ता श्रेष्ठले आज १३ जना सदस्यहरु तथा आमन्त्रित सदस्यहरुले सुझाव र धारणाहरु राखेको जनाएका छन् । राजनीतिक प्रतिवेदनमा प्रस्तुत भएबमोजिम पार्टी एकतालाई अझ सुदृढीकरण गर्नुपर्ने, पार्टीको कार्ययोजना ठोस र व्यवस्थित हुनुपर्ने, सरकारको काम अझ प्रभावकारी हुनुपर्ने जस्ता सुझावहरुमा आजका वक्ताहरु केन्द्रित रहेको वक्तव्यमा उल्लेख छ ।
आजको बैठकमा स्थायी कमिटीका सदस्यहरु नन्दकुमार प्रसाईं, सुरेन्द्रप्रसाद पाण्डे, अमृतकुमार बोहरा, बेदुराम भुसाल, शंकर पोखरेल, रघुवीर महासेठ, केशव बडाल, विष्णुपुकार श्रेष्ठ, लेखराज भट्ट, घनश्याम भुसाल, शक्ति बस्नेत, मणि थापा र जनार्दन शर्माले आफ्ना धारणा राखेका थिए ।
स्थायी समितिको अर्को बैठक भोलि पुस २ गते बस्ने प्रवक्ता श्रेष्ठले जनाएका छन् ।
Comments