Sajhamanch Archive

स्थायी समिति बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित रहेका छन् ।

यसअघि, मंसिरमा भएको चौथो स्थायी कमिटी बैठकमा पनि प्रधानमन्त्री ओली अनुपस्थित थिए । स्रोतका अनुसार बैठकमा अनुपस्थित भए पनि प्रधानमन्त्रीले आफ्नै कक्षबाट बैठकका कुरा प्रत्यक्ष सुनिरहेका छन् ।

शुक्रबार दोस्रो दिनको बैठकमा सदस्यहरुले सातवटा एजेण्डामा केन्द्रीत रहेर धारणा राख्नेछन् । बुधबार बसेको पहिलो दिनको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले मन्तव्य राखेर स्थगित भएको थियो ।

अध्यक्षद्धयको मन्तव्यबाहेक कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचार,नेपालको सीमा समस्या र समाधान, सरकारको कामको समग्र समीक्षा,पार्टी कामको समीक्षा र संगठनात्मक एकताका बाँकी कामहरू सम्पन्न गर्ने र एमसीसी र विविध गरी प्रमुख सात एजेण्डामा छलफल हुने नेकपाले जनाएको छ ।

पहिलो दिनको बैठकमा अध्यक्ष ओली र प्रचण्डले दिएका मनतव्यपछि नेकपामा तरंग उत्पन्न भएको छ । खासगरी पार्टी र सरकार सञ्चालनमा भएको एकलौटी निर्णया प्रक्रियामा अधिकांश सदस्यहरु असन्तुष्ट देखिएका छन् । यसै क्रममा ओली र प्रचण्डले एकले अर्कालाई सहयोग नगरेको भन्दै आपसमा घोचपेच गरेका थिए ।

पहिलो दिनको बैठकको भोलिपल्ट बिहीबार अध्यक्षद्वयले पुन भेटवार्ता गरेर बैठक कसरी व्यवस्थित बनाउने भन्ने छलफल गरेका थिए ।  नेकपामा पार्टी तथा सरकार सञ्चालन र एमसीसीबारे चर्को विवाद छ ।

स्रोत : रातोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *