Sajhamanch Archive

व्यायामसहितको आदर्श पर्यापर्यटन क्षेत्र धमाधम बन्दै

Published: (Updated: ) in मुख्य समाचार, समाज, स्थानीय तह, by .

बुद्धशान्ति । झापाको बुद्धशान्ति गाउँपालिका वडा नं. ३ मा अवस्थित आदर्श नमूना सामुदायिक वनमा यतिबेला तीब्रगतिमा पर्यटकीय क्षेत्र निर्माण भइरहेको  छ ।

आन्तरिक र बाह्य पर्यटक भित्र्याउने गरी वनले गुरूयोजनामार्फत् कामलाई निरन्तरता दिइरहेको सामुदायिक वन समितिका अध्यक्ष तिलनारायण रिजाल बताउँछन।

विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले गरेको बन्दाबन्दीका समयमा समेत सामाजिक दूरी कायम गरी निर्माण कार्यभईरहेको अध्यक्ष रिजाल सुनाउँछन् ।

१ सय ७७ हेक्टर क्षेत्रफल रहेको सामुदायिक वनमा बुद्धशान्ति गाउँपालिकाका साबिक ८, ७, ५ र ९ वडाका १ हजार ४७० उपभोक्ता रहेको वन समितिका सचिव मिना अधिकारीले बताइन् ।

यस वनपरिसरमा बाघ, हरिण, ढेडु, दुम्सी,मयुर, हात्ती,बाँदर, कालिजलगायतका वन्यजन्तु र महत्वपूर्ण जडीबुटीसमेत पाउन सकिन्छ । वनलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न प्रदेश सरकारले १३ लाख ७५ हजार, बुद्धशान्ती गाउँपालिकाबाट ९ लाख ५० हजार र डिभिजन वन कार्यालयबाट ३ लाख ८५ हजार रकम ०७६/७७को बजेटबाट विनियोजन भएको अध्यक्ष रिजालले बताए ।

सामुदायिक वनको १ सय ७७ हेक्टर क्षेत्रफल भएता पनि पाँच हेक्टर क्षेत्रफललाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्दै गरेको वनका कार्यलय सचिव भोजराज बास्तोलाले बताए । उनले ७ हेक्टर प्राकृतिक रवरले ढाकिएको र अरु बाँकी रहेको जमिन प्राकृतिक जंगल रहेको बास्तोला सुनाउँछन् ।

उक्त बिनियोजित रकमबाट पर्यटकलाई आकर्षण गर्ने बनभोज स्थल, पोखरी, खेलमैदान ,बालबालिकाले रमाउने चिप्लेटी, चाकाचुली, पिङ,  खेल सामाग्री, फुलबारी र बालबाटिका निर्माण भईरहेको छ । साथै उक्त पर्यापर्यटन क्षेत्रको मुख्य प्रवेशद्वार बुद्धशान्ति गाउँपालिका वडा नं.३ को सात नम्बर चोकमा गेट निर्माण समेत गरिएको छ ।

यतिमात्रै नभएर मानव स्वास्थ्यलाई समेत ध्यान राख्दै व्यायामशाला समेत निर्माण गरिएको अध्यक्ष रिजालले बताए । जहाँ १० भन्दा बढी प्रकारका व्यायाम गर्न सकिने बताईएको छ । यस क्षेत्र धार्मिक एवम् पुरातात्विक हिसाबले पनि महत्वपूर्ण रहेको छ । वनका छेउमा मन्दिर समेत रहेको छ । मन्दिरमा नियमित रुपमा पूजाआराधना गरिँदै आएको छ ।

प्राकृतिक रूपमा मनोरम रहेसँगै झापाकै पर्यटनमा सम्भावना बोकेको बुद्धशान्ति गाउँपालिकामा नै अरु धेरै पर्यटकिय सम्भावना बोकेका सिमसार क्षेत्र र ऐतिहासिक मठमन्दिर, गुम्बा रहेका छन् । स्थानीय सरकार, प्रदेश सरकारले अझ पर्यटन प्रवर्द्धनमा चासो देखाएर लगानी गर्ने हो भने स्थानीय नागरिकले रोजगारी समेत पाउने सरोकारवालाहरू बताउँछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *