Sajhamanch Archive

धान दिवसमा उदयपुर आएर कृषि मन्त्रीले गरे चक्लाबन्दी खेतीको उद्घाटन

Published: in प्रदेश तह, मिडियाबाट साभार, समाज by .

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकामा चक्‍लाबन्दी खेती सुरु गरिएको १६० विघा खेतमा सोमबार धान दिवस तथा रोपाई महोत्सवको कार्यक्रम गरिएको छ ।

त्रियुगा नगरपालिका वडा नं.१३ बहेडवहामा जग्गा भाडामा लिएर स्थानीय सहरा सहकारी संस्थाले चक्लाबन्दी खेती सुरु गरेको हो । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले सोमबार चक्लाबन्दी खेतीको उद्घाटन गरे ।

त्यस क्रममा उनले कृषि उत्पादनको लागत घटाउन चक्लाबन्दी खेती नै मुख्य उपाय भएको बताए । नेपालको भन्दा भारतबाट आयातित चामल सस्तो पर्न थालेको भन्दै मन्त्री भुसालले खेतीको लागत घटाउन चक्लाबन्दी खेतीमै जोड दिनुपर्ने धारणा राखे ।

उदयपुरको यस चक्लाबन्दी खेतीमा १० कठ्ठा बराबर एक गरा बनाएर खेती शुरु गरिएको छ । कृषि ज्ञान केन्द्र, उदयपुर, ग्रामीण वातावरणीय विकास केन्द्र, समाजसेवी समूह लगायतका विभिन्न ९ संस्थाको साझेदारीमा खेती शुरु गरिएको हो । यहाँ सोमबार नै केही क्षेत्रफलमा मेसिनद्वारा धान रोपिएको छ ।

अब बिउ र मलमा मात्र अनुदान

मन्त्री भुसालले अब कृषिको अनुदान बिउ र मलमा मात्र दिने पनि बताए । कात्रोमा समेत कर उठाउने अनि त्यो रकम अनुदानका नाममा जथाभावी बाँड्नु ठीक नहुने उनको भनाइ छ । मन्त्री भुसालले कृषिमा लागत कटाएर २० प्रतिशत नाफा सुनिश्चित हुने गरी मूल्‍य तोक्ने पनि बताए । यदि उक्त मूल्यमा बिक्री नभए सरकारले किनिदिने पनि उनले बताए ।

कृषिसँग सम्बन्धित सबै कार्यक्रम प्रदेशमा दिने तयारी भइरहेको मन्त्री भुसालले बताए ।

प्रदेश १ का कृषि, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री राम रानाले ठूलो क्षेत्रफलमा शुरु भएको चक्लाबन्दी खेतीले व्यवसायिक खेती गर्नका लागि प्रोत्साहन दिने बताए ।

उनले जथाभावी विभिन्न बालीको जोन घोषणा गरेर बजेट सक्ने काममात्र भएको भन्दै जोनसम्बन्धी कार्यक्रम प्रदेश सरकारलाई दिन माग गरे । ‘जहाँ जे राम्रो उत्पादन हुन्छ, त्यहाँ त्यही खेती गर्नु पर्‍यो’ उनले भने, ‘सुन्तला जोन बनाउने तर सुन्तला उत्पादन नहुने रहेछ, सरकारी बजेट पचाउनमात्रै जोन नबनाऔं ।’

त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले निकै मेहनतका साथ चाक्लाबन्दी खेती शुरु गरिएको भन्दै उनले यसले सफलता पाउने बताए ।नगरभित्रका अन्य वडामा पनि चाक्लाबन्दी शुरु गरिने उनको भनाइ छ । मेयर चौधरीले कृषि उपज बिक्री नहोला कि भनेर चिन्ता नलिन किसानलाई आग्रह गरे ।

स्रोत : अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *