Sajhamanch Archive

मेस्सीको ७ सयौँ गोल, तर बराबरीमा रोकियो बार्सिलोना

Published: in खेलकुद by .

काठमाडौं । स्पानिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा दोस्रो स्थानको बार्सिलोना र तेस्रो स्थानको एट्लेटिको मड्रिडले २-२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

खेलमा ३ गोल पेनाल्टीबाट हुँदा एक गोल आत्मघाती भएको थियो । बार्सिलोनाका लागि एक गोल गरेर कप्तान लिओनल मेसीले आफ्नो करियरमा सात सयौँ गोल पूरा गरे । तर लगातार तेस्रो बराबरीले बार्सिलोनाले सम्भावितमध्ये ६ अंक गुमाउँदा उपाधि होडमा ठूलो धक्का लागेको छ ।

बार्सिलोनाले घरेलु मैदानमा दुई पटक अग्रता बनाएपछि एट्लेटिकोले पुनरागमन गरेको थियो । एट्लेटिकोका लागि दुवै गोल सउल निगेजले पेनाल्टीमा गरेका थिए ।

क्याम्प नोउमा भएको खेलको ११औं मिनेटमा डिएगो कोस्टाले आत्मघाती गोल गर्दा बार्सिलोनाले पहिले अग्रता लिएको थियो । १९ औं मिनेटमा एट्लेटिकोका लागि निगेजले पेनाल्टीमा बराबरी फर्काए ।

सुरुमा निगेजको प्रहार बार्सिलोनाका गोलकिपर मार्क टेर स्टेगनले रोकेका थिए । तर उनी गोल लाइनभन्दा अघि बढेपछि पुनस् पेनाल्टी प्रहार गरिएको थियो र त्यसमा गोल भएको हो ।

दोस्रो हाफमा दुवै क्लबले पेनाल्टीमा गोल थपे । ५०औं मिनेटमा बार्सिलोनाका कप्तान मेसीले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई २-१ को अग्रता दिलाए । तर ६२औं मिनेटमा एट्लेटिकोका निगेजले पेनाल्टीमा दोस्रो गोल गरेपछि खेल बराबरीमा सकिएको हो ।

बराबरीले बार्सिलोनाको उपाधि होडमा धक्का पुगेको छ र दोस्रो स्थानमै यथावत छ । बार्सिलोना अझै शीर्ष स्थानको रियल मड्रिडभन्दा एक अंकले पछि छ । रियल ३२ खेलबाट ७१ अंकसहित शीर्ष स्थानमा छ । बार्सिलोनाको ३३ खेलबाट ७० अंक छ । ३३ खेलबाट ५९ अंकसहित एट्लेटिको तेस्रो स्थानमा छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *