Sajhamanch Archive

सभामुखलाई थाहै नदिई संसद अधिवेशन अन्त्य, कांग्रेस पनि असन्तुष्ट

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । सरकारले प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटासँग छलफल नै नगरी स‌ंसदको चालु अधिवेशन अन्त्य गरेको छ । प्रमुख प्रतिपक्षी नेपाली कां‌ग्रेसले पनि आफूहरूसँग परामर्श नै नगरी अधिवेशन अन्त्य गरेकामा असन्तुष्टि जनाएको छ ।

मन्त्रिपरिषद‍्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार साँझ ५ बजेदेखि लागू हुने गरी संसद अधिवेशन अन्त्य गरेको जानकारी स‌ंसद सचिवालयलाई गराएकी छन् ।संसद अधिवेशन अन्त्यका विषयमा सभामुख सापकोटासँग छलफल नै नभएको सभामुखको सचिवालय स्रोतले बतायो ।

संसद सचिवालयले पनि चालु अधिवेशन कम्तीमा असार महिनासम्म लम्बिने बताउँदै आएको थियो । नागरिकता विधेयक, निजामती कर्मचारीको सेवा शर्त सम्बन्धी विधेयक यही अधिवेशनबाट पारित गर्ने तयारी थियो ।

तर सरकारले संसदको बिजनेस ख्याल नगरी अन्त्यको सिफारिस गरेको संसद सचिवालयका कर्मचारीहरू बताउँछन् ।

‘दुवै हाउसबाट पारित गरेर सन्देश मात्रै सुनाउनुपर्ने विधेयक पनि छन् । तर अधिवेशन अन्त्य गर्ने सरकारको कुरा हो, गर्‍यो यसमा हामीले भन्नु केही त छैन’ ती कर्मचारीले भने ।

एक मन्त्रीका अनुसार मन्त्रिपरिषद‍्को बैठकमा प्रधानमन्त्री केपी शर्माले कानुनमन्त्री डा.शिवमाया तुम्बाहम्फेतिर हेरेर कुनै बिजनेस छन् ? भन्ने प्रश्न गरेका थिए ।

जवाफमा मन्त्री तुम्बाहाङ्फेले नागरिकतालगायतका कतिपय विधेयकमा विवाद रहेको र अरू खासै केही नभएको जवाफ दिएकी थिइन् । त्यसपछि प्रधानमन्त्रीले बिहीबारै साँझ ५ बजेटदेखि संसद अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय सुनाएका हुन् ।

मन्त्रिपरिषद् बैठक अगाडि प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग भेटवार्ता समेत गरेका थिए । कोरोना महामारीकै बीच संसद अधिवेशन वैशाख २६ गते सुरु भएको थियो ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले चालु अधिवेशन अन्त्यको सिफारिस गर्दा सरकारले सामान्य जानकारीसम्म नदिएको भन्दै असन्तुष्टि जनाएको छ।

सामान्य अवस्थामा प्रमुख प्रतिपक्ष दलसँग सदन अन्त्यका बारेमा परामर्श हुने गरेको उल्लेख गर्दै कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले  भने, ‘अहिले अधिवेशनको अन्त्यको सिफारिस गर्दा हामीलाई सामान्य जानकारीसम्म दिइएन ।’

सरकारले जनताको समस्या सुन्न चाहेन : कांग्रेस

जनसरोकारसँग सम्बन्धित, कोरोना भाइरस र सलह किरा नियन्त्रणसँग सम्बन्धित विषयमा कांग्रेसका केही सांसदले पेश गरेको संकल्प प्रस्तावमा छलफल नै हुन पाएको थिएन । अहिलेको अवस्थामा सदनलाई अझै प्रभावकारी बनाउनुपर्छ भनेर लागिरहेका बेला एक्कासी अधिवेशन अन्त्य गरेकामा आश्चर्य लागेको खाँणले बताए ।

कसैसँग सल्लाह नगरी अधिवेशन अन्त्य गर्नु सरकारको गैरजिम्मेवारीपन भएको उनको भनाइ छ ।

खाँणले पार्टीको आन्तरिक कलह र दम्भमा संसद अधिवेशन अन्त्य गरेर सरकार जनताको समस्या सुन्नबाट भाग्न खोजेको टिप्पणी गरे ।

‘सरकारको आन्तरिक द्वन्द्व र दम्भले संसद अधिवेशन अन्त्य गर्नु गैरजिम्मेवारीपन हो । यो जायज होइन’, उनले  भने, ‘अधिवेशन अन्त्य गरेर सरकार जनताको समस्या सुन्नबाट भाग्न खोज्या जस्तो देखिन्छ ।’

कांग्रेस सांसद मिनेन्द्र रिजालले पनि नेकपाको आन्तरिक कलहका कारण अधिवेशन अन्त्य गर्ने सिफारिस सरकारबाट भएको आफूलाई जानकारी आएको बताए ।

स्रोत : अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *