विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ‘ओपीडी’ बन्द गरेर डेढ दर्जन चिकित्सक हिडे
Published: (Updated: )
by .धरान । प्रदेश–१ मा कोरोना संक्रमण तीब्र रुपमा बढिरहेका बेला धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डेढ दर्जन विशेषज्ञ चिकित्सकहरु काठमाडौं हिंडेका छन् ।
प्रदेशकै सबैभन्दा ठूलो अस्पताल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको ‘ओपीडी’ सेवा बन्द गरेर चिकित्सकहरु काठमाडौं हिंकेपछि हजारौं बिरामी उपचार गराउनबाट वञ्चित भएका छन् ।
सरकारले सभा, सम्मेलन र भिडभाड हुने गरी कुनै पनि कार्यक्रम गर्न प्रतिबन्ध लगाएको भए पनि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले साउन ३० गते सिनेट बैठक बोलाएको छ । सिनेट बैठकमा भाग लिनका लागि भन्दै प्रतिष्ठानको ओपीडी सेवा बन्द गरेर प्रतिष्ठानका डेढ दर्जन चिकित्सकहरु काठमाडौं गएका हुन् ।
प्रतिष्ठानका पदाधिकारीहरु उपकुलपति डा। ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष डा। गुरु खनाल, रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मी र निर्देशक गौरीशंकर साहलगायतका डेढ दर्जन चिकित्सक काठमाडौं गएका हुन् ।
चिकित्सकहरुले ओपीडी सेवा बन्द गरेर काठमाडौं हिंडेपछि प्रतिष्ठान आउने हजारौं सर्वसाधारणको उपचार सेवा प्रभावित भएको छ ।
प्रतिष्ठानका पदाधिकारीसहित दर्जनौं चिकित्सकहरुले कोरोना संक्रमित र अन्य बिरामीको उपचार गर्न छाडेर जानु गैरजिम्मेवारीपन देखाएको धरान उपमहानगरपालिकाका मेयर तिलक राईले बताएका छन् ।
सिनेट बैठक बोलाएपछि कोरोनाको महामारी जारी रहेकाले तत्काल स्थगित गर्न स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई लिखित आग्रह गरे पनि अटेर गरिएको मेयर राई बताउँछन् । हाल बीपी प्रतिष्ठानमा १०० जनाभन्दा बढी विशेषज्ञ चिकित्सकहरु छन् ।
अस्पतालले आकस्मिक सेवा भने दिइरहेको छ । प्रतिष्ठानले कोरोना संक्रमितलाई भर्ना नगरेका कारण धरानका १८ संक्रमितहरु घरमै छन् । यसले समुदायमा अझ संक्रमण फैलाउने त्रास बढेको छ ।
Comments