Sajhamanch Archive

कोटिहोममा स्थापित पिसिआर ल्याबको सामान मेची अस्पताललाई हस्तान्तरण, अब चाँडै सञ्चालनमा आउने

Published: (Updated: ) in विविधा, समाज, स्वास्थ्य by .

विर्तामोड । एकका लागि एक अभियानको अगुवाईमा जनस्तरबाट कनकाई–४ कोटीहोममा स्थापित पीसीआर ल्याब अब केही दिनमै सञ्चालनमा आउने भएको छ ।

ल्याबका लागि आवश्यक जनशक्ति नियुक्त गरी उनीहरुको तालिम तथा कानूनी प्रक्रिया अघि बढिसकेकाले ल्याब छिट्टै सञ्चालनमा आउने मेची हस्पिटलका मेडिकल सुपरिटेन्डेन्ट डा.पिताम्बर ठाकुरले बताए ।

बुधवार समर्पण राष्ट्रिय अभियानको भवनमा स्थापित ल्याबमा रहेका पीसीआर मेसिनसहित ४० वटा उपकरण तथा सामग्रीको विवरण र चावी एकका लागि एक अभियानको तर्फबाट हस्पिटलका डाक्टर ठाकुरलाई हस्तान्तरण गरियो ।

अभियानका सहसंयोजक बिनोद बस्नेतसहित अभियानकर्मीले संयुक्त रुपमा हस्पिटलका अध्यक्ष तथा जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल विश्वकर्मा र कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको रोहबरमा सामग्रीको विवरण र चावी हस्तान्तरण गरेका हुन् ।

कनकाई नगरप्रमुख पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा हस्पिटलका अध्यक्ष विश्वकर्मा, डा ठाकुर, प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक जयवेन्द्र यादव, अभियानका सहसंयोजक बस्नेतले मन्तव्य राखेका थिए ।

आकस्मिक रुपमा भएको उक्त कार्यक्रममा अभियानका सल्लाहकार लोकराज ढकाल, सदस्यहरु गणेश ढकाल, कुमार भट्टराई, सजेश शिवाकोटी, कुमारमणि पोखरेल, शिव कँडेल लगायतले कोरोना संक्रमण बढेको बेला ल्याब छिट्टै सञ्चालनमा आउनुपर्नेमा जोड दिए ।

ल्याब सञ्चालनमा आएपछि सबै दाताहरुलाई जानकारी गराई औपचारिक रुपमा उद्घाटन, हिसाब सार्वजनिक तथा अन्य कार्यक्रम सम्पन्न हुने एकका लागि एक अभियानले जनाएको छ ।

एकका लागि एक अभियान, कनकाई नगरपालिका र मेची हस्पिटलबीच गत साउन २० गते भएको निर्णय तथा सहमति बमोजिम मेची हस्पिटलले आफ्नो दोस्रो प्रयोगशालाको रुपमा उक्त ल्याबलाई सञ्चालनमा ल्याउनेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *