Sajhamanch Archive

अनुभूतिः माइजूबिहीन मावलीघर

Published: in विचार/ब्लग, by .

बितेको साता हामीले निकै सकसपूर्ण अवस्था गुजार्यौं । माइजुको मस्तिष्क रक्तश्रावको उपचार गर्ने क्रममा भोगेको पीडा मलाई माइजूको देहावसानपछिको सबैभन्दा पीडादायी थियो । अनेक प्रयासका बाबजुद हामीले हाम्री माइजूलाई बचाउन सकेनौं । उहाँले ३ भाइ, ५ बहिनीलाई मात्र छाडेर जानु भएन, मामालाई एक्लो बनाउनु भयो । मेरो ९९ वर्षको मावली हजुरबुबा सहाराबिहीन हुनुभयो । हामी भान्जा भान्जी मावलमा माइजूबिहीन भयौं ।

राजधानीको नख्खुस्थित मेडिसिटी अस्पतालमा मेरी माइजू सीता पौडेलको उपचारका क्रममा मैले भोगेको पीडाले मेरो मस्तिष्कभरि धेरै प्रश्नहरु उब्जाइ दिएका छन् । यी प्रश्न पाठकहरुसमक्ष बहसका लागि छाड्नुअघि घटनाको तथ्यमा यहाँहरुलाई पुर्याउन चाहन्छु ।

सानुबुबा राधाकृष्ण घिमिरेले मंगलबार एकाबिहानै फोन गरेर माइजूलाई मस्तिष्क रक्तश्राव भएकाले सिन्धुलीबाट काठमाडौं ल्याउन हेलिकप्टरको ब्यवस्था गर्न सकिन्छ कि भनेर मलाई सोध्नुभयो । मैले साथीहरुको सम्पर्क खोज्न थालेँ । अन्नपूर्ण पोष्टमा काम गर्ने मेरा मित्र मनोज बस्नेतमार्फत सिम्रिक एयरमा सम्पर्क गरेँ । सिम्रिकको हेलिकप्टर लुक्ला गएको रहेछ । त्यसपछि सेनाको हेलिकप्टरका लागि प्रयास गर्न साथी डण्ड गुरुंगलाई भने ।

माइजू एकाबिहानै बेहोस भएर ढल्नु भएछ । उहाँलाई घरबाट मानिसले बोकेर कमला नदी तारियो । त्यसपछि एम्बुलेन्समा राखेर सिन्धुली अस्पतालसम्म ल्याइयो । मामा रामचन्द्र र भाइ लक्ष्मण माइजूको साथमा हुनुहुन्थ्यो । लक्ष्मणसँग माइजूको अवस्थाबारे जानकारी लिँदै यता हेलिकप्टर खोज्न प्रयास गरिरहेँ । उता लक्ष्मणलाई पनि जिल्ला अस्पतालका चिकित्सकको सम्पर्कमार्फत कुनै उपाय लगाउन सकिन्छ कि भनेर लगाइरहेँ ।

हाम्रोे सिन्धुली सडक सञ्जालले जताततैबाट जोडिए पनि स्वास्थ्य उपचार सेवाको दृष्टिले अत्यन्तै दुर्गम जस्तै छ । सदरमुकाममा सामान्य अस्पताल छ । जटिल रोगको उपचार गर्न राजधानी आउनै पर्छ । नजिकै हवार्इ सेवाको सुविधा पनि छैन ।

धेरै प्रयासपछि साथी डण्डले ग्राण्डी अस्पतालको हेलिकप्टर लान सकिने बताउनु भयो । सिन्धुली अस्पतालका चिकित्सकमार्फत पनि मेडिसिटी अस्पतालबाट हेलिकप्टरको बन्दोबस्त भएछ । हामीले नेपालका चर्चित ब्यवसायीले खोलेको, सुविधा सम्पन्न, भर्खरै स्थापना भएको र निकै चर्चामा रहेको मेडिसिटीकै हेलिकप्टरलाई प्राथमिकता दियौं ।

माइजूलाई अस्पताल ल्याइयो । यता सबैलाई खबर गरेँ । अप्तालमा जम्मा भयौं । माइजूको अवस्था नाजुक थियो । उहाँ अचेत हुनुहुन्थ्यो । आकस्मिक सेवामा राखेर उपचार सुरु भयो । अस्पतालको उपचारमा हामीलाई पूर्ण भरोसा थियो । उपचार सफल हुनु, नहुनुमा भगवानको भरोसा । हामी अस्पताल प्रांगणमा जम्मा भएर माइजूको स्वास्थ्य लाभको कामना गरिरह्यौं । हामीले धैर्यता गुमाएका थिएनौं । माइजू निको भएर फर्कने आश जिवितै थियो ।

माइजू मेरा लागि आमापछिको आमा जत्तिकै हुनुहुन्छ । मैले मावलमै बसेर एसएलसीसम्मको शिक्षा लिएँ । म ५ बर्षको हुँदादेखि माइजूकै काखमा हुर्किएँ । बाल्यवस्थादेखि किशोरावस्थासम्म उहाँले मातृवास्तल्य प्रदान गर्नुभयो । उहाँले घरबाट टाढा मामाघरमा बस्दा आमाको कमी महसुस हुन दिनु भएन । मेरो खानपान, शिक्षादीक्षामा उहाँले आफ्नो छोरालाई जत्तिकै हेरचाह गर्नुभयो । कतिपय अवस्थामा आफ्नो छोरालाई भन्दा बढी । सायद भान्जो भएको नाताले पनि हुनसक्छ ।

माइजूको यस्तो अवस्थाले मन बेचैन थियो । मामाको बेचैनी झन् खपिनसक्नु थियो । उहाँ बुढेशकालमा माइजूले मृत्युलाई जित्ने आशमा टोलाइ रहनु भएको थियो । भाइबहिनी (मामाका छोराछोरी) को मलिन अनुहारले मेरो धैर्यतालाई चुनौती दिइरहेका थिए । सबैलाई सम्हाल्ने मेरै जिम्मेवारीजस्तै लागिरहेको थियो । मआफैं सम्हालिन नसक्ने अजस्थामा थिएँ । माइजूको उपचारमा कुनै कमि हुन नदिन सानुबुबा राधाकृष्ण र ज्वाईं माधव दौडधुुपमा हुनुहुन्थ्यो ।

अन्ततः चिकित्सकले माइजूलाई आइसियुमा राखेर उपचार गर्ने भए । हामीलाई आइसियुका चिकित्सकले उहाँको क्रिटिकल अवस्थाबारे जानकारी गराए । उहाँको उपचारका लागि चाल्नु पर्ने कदमबारे जानकारी गराए । उपचारका लागि गर्नुपर्ने झण्डै १५ वटा विधिमा हाम्रो मञ्जुरी खोजे । माइजूको त्यस्तो अवस्थामा हामीले यो गर, त्यो नगर भन्ने अवस्थै थिएन । भाइ बैकुण्ठले छोराको नाताले सबै प्रकारका उपचारका स्टेपमा मञ्जुरी दिएर हस्ताक्षर गर्यो ।

माइजूको उपचारमा प्रसिद्ध चिकित्सक गोपालरमण शर्मालगायतको सक्रियता रह्यो । सानुबुबा, म, भाइ बैकुण्ठलगातले उहाँलाई भेटेर माइजूको अवस्थाबारे जिज्ञासा राख्यौं । उहाँले हाम्रो बिरामी ७० प्रतिशत सकुशल फर्कने सम्भावना रहेको भन्दै हामीलाई ढाडस दिनुभयो । उहाँले विरामीको अबस्थामा अलिकति सुधार आउने बित्तिकै शल्यक्रिया गर्ने बताउनु भयो ।

मेडिसिटीको उपचार खर्च हाम्रो पहुँचमा थिएन । पाँचे तारे स्तरको सुविधा भनिएको अस्पतालको शुल्क पनि त्यही अनुसारकै थियो । यद्यपि माइजूको उपचारमा हामीले कुनै कसर बाँकी राखेनौं । मावली भाइहरु आफैं बन्धकी बसेर पनि माइजूको उपचार गर्न तयार थिए ।

माइजूको बुधबार शल्यक्रिया भएन । उहाँको अवस्था स्थिर रहेकाले गर्न नसकिएको चिकित्सकले बताए । बिहीबार शल्यक्रिया गर्ने आश्वासन दिए ।

दुई दिनको प्रयासपछि चिकित्सकले उहाँलाई बचाउन नसकिएको घोषणा गरे । भाइले मलाई अस्पताल जाँदै गर्दा बाटोमै दुखद खबर सुनायो । मलाई असैह्य पीडा भयो । गाडीमै डाँको छोडेर रुन थालेँँछु । मलाई अरु यात्रुले सान्त्वना दिए । सम्हाले । माइजूलाई गुमाउनु पर्दाको पीडा थामिसक्नु हुने कुरै भएन । तैपनि सम्हालिने प्रयास गरेँ ।

गाडीबाट झरेर दगुर्दै अस्पताल पुगेँ । अस्पताल पुग्दा मामा, भाइबहिनीको रोदन थामी नसक्नु थियो । कसरी थामिनुहोस् मामा । बुढेसकालमा जीवनसाथी गुमाउनुको पीडा अरुले कसरी महसुस गर्न सक्छ ? उता हजुरआमा गुमाएर एक्लो हुनु भएको १०० वर्ष पुग्नु भएको हजुरबुबाको अवस्था के होला ? उहाँ माइजूलाई आफ्नी आमा भन्नुहुन्थ्यो । उहाँलाई बुढेसकालमा चिसोतातो सोध्ने माइजूमात्रै हुनुहुन्थ्यो । यस्तो अवस्थामा बुहारी गुमाउनु पर्दाको पीडा यहाँ शब्दमा वर्णन गर्नै सकिँदैन । अस्पतालमा कोकोहोलो थियो । मआफैं बिक्षिप्त थिएँ । अरुलाई सम्हाल्न गाह्रो भइरहेको थियो ।

आफूलाई सम्हालेर अन्तेष्टीको तयारी गरियो । आर्यघाट बुक गरियो । आफन्तहरु जम्मा हुँदै जानुभयो । शब बाहनको ब्यवस्था गरियो । हामी अस्पतालले कति खेर हामीलाई माइजूको पार्थिव शरीर उपलब्ध गराउँछ भन्ने प्रतीक्षामा थियौं ।

चिकित्सकसँग कुरा गर्न मआफैं आइसियुमा गएँ । त्यहाँ माइजुलाई सामान्य पर्दाले बारेर राखिएको थियो । हेरें, माइजूको अनुहार चहकिलो छ । स्वासप्रसावस नियमित जस्तै छ । अक्सिजनको मात्रा ९८ देखाइरहेकको छ । उहाँ मस्त निन्द्रामा रहनु भएको जस्तै लाग्छ । उहाँले हामीलाई छाडेर जानु भएको अनुभूति हुँदै भएन । त्यसपछि चिकित्सकलाई जिज्ञासा राखेँ । उनले भेन्टिलेटरले स्वासप्रस्वास गराइरहेकाले हटाउनासाथ उहाँले आफैं स्वास फेर्न नसक्ने बताए । होला भन्ठाने । चिकित्सकलाई कसरी विश्वास नगर्नू ?

‘हामीलाई कति खेर विदाइ गर्नु हुन्छ ?’ चिकित्सकलाई मेरो प्रश्न ।

‘तपाईंहरु तयार हुनुस् । तपाईंहरुले भन्नासाथ हामी पठाउँछौं,’ उनको उत्तर थियो, ‘अब अन्तिम पटक अनुहार हेर्न कोही आफन्त आउन चाहनुहुन्छ भने ल्याएर देखाइ दिनुस् ।’
त्यसपछि मैले आफन्तहरु सबैलाई एकएक गरि हेर्न पठाएँ । कसैले विश्वासै गर्दैन, अब माइजू हुनुहुन्न भनेर ।
हामी विल तिर्न गयौं । काउन्टरले आइसियुबाट बिल नआएको बतायो । हामी पुनः आइसियु पुग्यौं । त्यहाँका चिकित्सकले भने, ‘माइजूले आँखा हेर्नु भयो ।’ उनीहरुले माइजू निको हुने आश अझै जिवितै रहेको बताए । खुशीको सिमै रहेन । सीमा हुने कुरै भएन । अन्तेष्टी गर्न लागेको ब्यक्ति जिवितै रहेको खबर सुन्दा कसलाई खुशी नलाग्ला ?

त्यसपछि आइसियुबाट उहाँलाई सिटिस्क्यान गर्न लगियो । त्यतिखेर सबै आफन्तले हेर्न पाए । उहाँको आँखा खुल्लै थियो । सिटिस्क्यान गरेर फर्काउँदा उहाँका आँखा बन्द थिए । भाइ बैकुण्ठ आमालाई हेर्न आइसियुमा गयो । उसले आमालाई झक्झक्याएर बोलाएछ । ‘आमाले मेरो बोली सुनेर आमाले आँखा हेर्नु भयो,’ भन्यो । एकै छिनमा अस्पतालमा खुशियाली छायो । अस्पताल आएका आफन्त बिहानैदेखि अन्नपानी बिना बसिरहेका थिए । सबै खाजा, पानी खोज्नतिर लागे ।

अस्पतालले त्यसपछि पुनः माइजूको उपचार सुरु गर्यो । हामीले आशा जिवितै राख्यौं । अस्तालको मिटर तीब्र गतिमा दौडिरहेको थियो । माइजू सकुशल फर्कने आशमा हामी उहाँको उपचारका सबै उपाय गरिरहेका थियौं ।

माइजूको सुस्वास्थ्यको कामना गर्दै उहाँका छोरा, छोरी, बहिनी, ज्वाईं, मलगगायतले अस्पताललाई छाडेनौं । यस्तो अवस्थामा अस्पतालले माइजूको मृत्यु सम्बन्धी चिकित्सकले दिएको खबर हामीमाथि भद्दा मजाक लागेको थियो । तैपनि पुनः उपचार सुरु भएकाले हामी आशावादी थियौं ।

त्यसपछि थप दुई दिन अस्पताल राख्दा पनि माइजूको अवस्थामा सुधार आएन । त्यसपछि उहाँलाई हामीले आफन्तहरु चिकित्सक रहेको अन्य अस्पतालमा सार्ने निधो गर्यौं ।

सिन्धुलीका समाजसेवी उज्ज्वल थापालाई अन्य कुनै अस्पतालमा आइसियुको ब्यवस्था गर्न सकिन्छ कि भनेर सम्पर्क गरेँ । उहाँ सिन्धुलीबाट आउने हरेक विरामीको उपचारमा सघाउन सधैं तम्तयार भएर बस्नुहुन्छ । मेरो आग्रह सन्नासाथ उहाँ तुरुन्तै अस्पताल आउनु भयो । उहाँले काठमाडौं मेडिकल कलेजमा आइसियुमा बेडको ब्यवस्था मिलाउनु भयो ।
अर्को दिन महाराजगञ्जस्थित शिक्षण अस्पतालमा पनि बेड मिल्ने भयो । सानिमाको घर नजिकै भएकाले हामीले शिक्षण अस्पतालमै सार्ने निधो गर्यौं ।

मेडिसिटीका चिकित्सकले त्यहाँसम्म लैजान सहयोग गरे । माइजूलाई एक दिन इमर्जेन्सीमा राखेर आइसियुमा सारियो । त्यहाँ चिकित्सकले निकै प्रयास गरे । अन्ततः माइजुले साँझ हामीलाई छाडेर देहत्याग गर्नुभयो ।

माइजूको ब्रेन ह्यामरेजको पीडा हामीले यही साता नजिकका तीन जनामा देख्यौं । मेरै नजिकको मामाको छोरा २३ वर्षीय पौडेलको मस्तिष्क रक्तश्राब भएपछि शल्यक्रिया गरेको नवौं दिनमा निधन भयो । पुत्रशोकको पीडामा रहनु भएका मामा केदार पौडेल आफैं छोराको काजक्रिया गर्न कोरामा बस्नु भयो । यस्तै पीडा सिन्धुलीको तीनपाटनका कोइराला परिवारलाई परेको थियो । त्यहाँका ३६ वर्षीय गोबिन्द कोइरालाको पनि मस्तिष्क रक्तश्राब कै कारण काठमाडौंमा उपचार गर्दागर्दै निधन भयो ।

पछिल्लो समय मस्तिष्क रक्तश्राबको घटना निकै बढेको देखियो । पीडा भोग्नेलाई मात्र थाहा हुने रहेछ । हामीमाथि ठूलो बज्रपात परेको छ यतिखेर ।

माइजूको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरेर भाइहरुलाई सिन्धुलीको कमलामाई–१० मा काजक्रियाका लागि लिएर गयौं । त्यहाँ ९९ वर्षका हजुरबा माइजू सकुशल फर्केर आउने आशमा बाटो हेरेर बस्नु भएको थियो । केही वर्षअघि हजुरआमा गुमाएर एक्लो जीवन बिताइरहनु भएका हजुरबाबालाई तातोचिसो सोध्ने सहारा एकमात्र माइजू हुनुहुन्थ्यो । ‘मैले आज आमा गुमाएको छु,’ हजुरबुबाले डाँको छाड्दै भन्नुभयो, ‘अब म सराहाबिहीन भएँ ।’ शताब्दी पुरुष बन्न लाग्नु भएको हजुरबाबाको बुढ्यौलीले चिम्सा भइसकेका आँखामा आँशु देख्दा हाम्रो मन थामिने कुरै भएन । प्रकृतिको नियम सबैले स्वीकार्नै पर्छ । हामी मावलमा माइजूबिहीन भएर टोलाउँदैछौं ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *