Sajhamanch Archive

कुलमानको ४ वर्षे कार्यकाल आज सकिँदै

Published: in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको ४ वर्षे कार्यकाल आज (आइतबार) सकिँदैछ । २०७३ भदौ २९ मा कार्यकारी निर्देशक नियुक्त भएका कुलमान घिसिङको ४ वर्षे कार्यकाल सकिँदै गर्दा अब प्राधिकरणमा अबको प्रमुखका रुपमा को आउँछन् भन्ने टुंगिएको छैन ।

प्राधिकरणका कर्मचारीले उनलाई औपचारिक रुपमा विदाइ गर्ने छन् । २०५१ सालमा सातौं तहको इन्जिनियरबाट नेपाल विद्युत प्राधिकरणमा प्रवेश गरेका घिसिङ २०७३ भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा नियुक्त भएका थिए ।

चिलिमे जलविद्युत कम्पनीबाट प्राधिकरणको केन्द्रीय कार्यालयमा तानिएर जिम्मेवारीविहीन बनाइएका उनलाई तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माले प्राधिकरणमा ल्याएका थिए ।

कुलमान दोस्रो कार्यकालका लागि दोहोरिने चर्चा पनि छ । तर, अहिलेसम्म मन्त्रिपरिषदमा उनलाई दोहोर्‍याउने गरी प्रस्ताव पुगेको छैन ।मन्त्रिपरिषदको नियमित बैठक सोमबार मात्रै भएकाले प्राधिकरणका कार्यकारी निर्देशक नियुक्तिको निर्णय भोलि मात्रै हुने सम्भावना छ ।

सरकारले कुलमानलाई नदोहोर्‍याउने इच्छा गरेपनि जनस्तरबाट दोहोर्‍याउन दबाव छ । दवावका कारण कुलमान दोहोरिने सम्भावना पनि छ । अर्को कार्यकालमा दोहोरिन घिसिङ आफैं पनि इच्छुक छन् ।

पहिलो कार्यकालमा १८ घण्टासम्मको लोडसेडिङ हटाएर प्राधिकरणलाई ३४ अर्ब सञ्चित नोक्सानीबाट ५ अर्बको सञ्चित नाफामा लगेको भन्दै घिसिङलाई दोहोर्‍याउन विभिन्न क्षेत्रबाट माग भएको छ । अहिलेसम्म मन्त्रालयले नयाँ कार्यकारी निर्देशक नियुक्ति गर्ने, कुलमानलाई निरन्तरता दिने वा निमित्तका रुपमा अरुलाई नै काम गर्न दिने भन्नेबारे ऊर्जा मन्त्रालय मौन छ ।

 ऊर्जामन्त्रालय भने कार्यकारी निर्देशकका लागि खुला प्रतिस्पर्धा गर्ने मनस्थितिमा छ ।लोकप्रिय बनेका कुलमान घिसिङलाई दोहोर्‍याउँदा प्राधिरकणले गरेका कामको जस आफूले नपाउने डर सरकारलाई छ । ऊर्जा मन्त्रालयले प्राधिकरणमा नयाँ व्यक्ति ल्याउने गरी प्रक्रिया पनि सुरु गरेको छैन । यसका कारण कुलमान दोहोरिने वा नदोहोरिने भन्ने निश्चित हुन सकेको छैन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *