Sajhamanch Archive

नेकपाले मङ्सिर मसान्तभित्र सदस्यता नवीकरण गरिसक्ने

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संगठन विभागले मङ्सिर मसान्तभित्र सदस्यता नवीकरण सक्ने कार्ययोजना बनाएको छ ।

संगठन विभागको बैठक आइतबार पार्टी मुख्यालय धुम्बाराहीमा बसेको थियो । आज बसेको बैठकले असोज मसान्तभित्र पार्टी सदस्यहरूको विवरण संकलन, कात्तिक मसान्तभित्र अद्यावधिक, मंसिर मसान्तभित्र नवीकरण गरिसक्ने गरी तीनमहिने कार्ययोजना तय गरिएको गण्डकी प्रदेशमा इन्चार्ज तथा विभागका सदस्य पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

यसअघि नेकपाको दोस्रो केन्द्रीय कमिटी बैठकले चैत मसान्तभित्रै नवीकरण सक्ने कार्ययोजना बनाएको थियो । तर, कोरोना सङ्क्रमण बढ्दै जाँदा सङ्गठनात्मक काम प्रभावित बनेको थियो । आज बसेको बैठकले भदौ २६ गते सकिएको स्थायी कमिटी बैठकले पारित गरेको सङ्गठनात्मक कामहरू पनि अध्ययन गरेको र त्यसलाई कार्यान्वयन गर्ने निर्णय गरेको गुरूङको भनाइ थियो ।

जिल्ला कमिटीका विवादका सन्दर्भमा आज कुनै निर्णय नभएको गुरूङले बताए । कतिपय जिल्लामा अन्तरविरोध र असमझदारीले गर्दा पार्टी कमिटीहरू गठन हुन नसकेको, एकीकरणको क्रममा कतिपय स्थानमा मापदण्ड उल्लङ्घन भएको र अनुशासनलगायत अन्य विषयहरूमा उजुरी र गुनासाहरू प्राप्त भएकाले आगामी असोज महिनाभित्र निरुपण गर्न संगठन विभागलाई स्थायी कमिटीले जिम्मा दिएका थियो ।

यसबारे भने कुनै निर्णय नभएको उनको भनाइ थियो । “अरू पनि विवाद आउलान्, एउटै कार्यविधि बनाएर निरुपण गर्न सघाउ पुगोस् भनेर आज निर्णय लिइएन,” उनले भने ।

त्यस्तै आजको बैठकले केन्द्रीय सदस्य ज्ञानबहादुर भुजेललाई संगठन विभागको सचिवमा मनोनीत गर्दै अनुमोदनका लागि सचिवालयसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *