Sajhamanch Archive

विराटनगरमा कोरोना संक्रमणबाट १८ जनाको मृत्यु

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by .

विराटनगर । प्रदेश १ को राजधानी विराटनगर कोरोना फैलावट र संक्रमणको दृष्टिले प्रदेशकै हटस्पट बन्‍न पुगेको छ । दुई महिनायता विराटनगर महानगरमा तीव्र गतिमा कोरोना संक्रमण फैलिरहेको छ ।

मोरङमा करिब दैनिकजसो संक्रमितको मृत्यु हुन पुगेको छ । यसमा पनि मोरङकै साबिक सदरमुकाम विराटनगरकै अधिक छन् । धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत विराटनगर -१२ का ७० वर्षीय पुरुषको मृत्यु भएको छ । योसँगै महानगरमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

प्रतिष्ठानमै सोमबार बिहान मोरङको धनपालथान गाउँपालिका ६ का ४० वर्षीय पुरुषको मृत्यु भएको छ । उनमा दीर्घरोगको लक्षण नभएको बताइएको छ । मृत्यु भएका विराटनगरका वृद्धमा भदौ १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई विराटनगरस्थित म्याक्स अस्पतालले धरान रेफर गरेको थियो । उनमा ज्वरो, खोकी र श्वासप्रश्वाससम्बन्धी समस्या तथा लक्षण थियो । विराटनगरमा संक्रमितको संख्या १ हजार ४७२ पुगेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कका अनुसार मोरङमा कोरोना संक्रमतिको संख्या २२१२ जना पुगेको छ । कोरोनाबाट जिल्लामा २९ जनाको ज्यान गइसकेको छ ।

स्रोत : बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *