Sajhamanch Archive

मुख्यमन्त्री राईद्वारा स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिन यातायात व्यवसायीलाई आग्रह

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by .

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले यातायात व्यवसायीहरुसँग छलफल गरेका छन् । असोज ५ बाट सार्वजनिक यातायात सञ्चालन हुने निर्णय भएपछि यातायात क्षेत्रका सरोकारवाला निकायहरुसँग मुख्यमन्त्री राईले मंगलबार भर्चुअल छलफल गरेका हुन् ।

लामो समयपछि यातायात सञ्चालन हुने भएपछि यसलाई कसरी सुरक्षित र व्यवस्थित गर्ने भन्‍नेबारेमा मुख्यमन्त्री राईले सरोकारवालाहरुसँग छलफल गरेका उनका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए । छलफलमा मुख्यमन्त्री राईले असोज ५ गतेअघि यातायात व्यवसायीहरुलाई स्वास्थ्य सजगता अपनाउँदै आफ्ना कर्मचारीहरुको विवरण तयार गर्न आग्रह गरेका छन् । उनले यातायात व्यवसायीहरुको साझा समस्याहरुलाई सरकारले सम्बोधन गर्दै जाने बताएका छन् ।

मुख्यमन्त्री राईले स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिन यातायात व्यवासीहरुलाई आग्रह गरेका छन् । उनले माक्स, स्यानिटाइजरजस्ता स्वास्थ्य सुरक्षाका साधन प्रयोग गरेर सावधानीहरु अपनाउन आग्रह गरेका हुन् । यात्रुको विशेष ध्यान दिन पनि उनले व्यवसायीहरुलाई आग्रह गरे ।

लामो दूरीका यात्रुको विवरण राख्‍नसमेत मुख्यमन्त्री राईले व्यवसायीलाई भनेका छन् । छलफलमा यातायात व्यवसायीहरुले सार्वजनिक यातायात सञ्चालन गर्ने सरकारको निर्णयलाई स्वागत गरेका थिए । उनीहरुले स्वास्थ्य सजगता अपनाउँदै यातायातका साधनहरु सञ्चालन गर्नै प्रतिबद्धता व्यक्त गरेका छन् । छलफलमा यातायात व्यवसायीहरुका साथै यातायात क्षेत्रका मजदुर संगठनका प्रतिनिधिहरुको पनि उपस्थिति थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *