चिनियाँ खानपानबाट हामीले पनि केही सिक्ने कि ?
Published: (Updated: )
by .हामी किन तन्दुरुस्त, निरोगी छैनौं ? किन हामीलाई चाढै बुढ्यौलीले छोप्छ ? यसमा हाम्रो खानपान शैली पनि जिम्मेवार होला भन्ने लाग्छ ।
म बर्षौंदेखि हस्पिटालिटी खासरी रेष्टुरेन्ट व्यवसायमा छु । सामान्य श्रमिकदेखि सेफ हुँदै विभिन्न जिम्मेवारीमा रहेर मैले यस व्यवसायको अन्तरकुन्तर अनुभव गरें । नेपालीहरु कस्तो खानामा रुची राख्छन् ? कसरी खान्छन् ? यी कुरा त मैलें देख्दै र भोग्दै आएँ ।
रेष्टुरेन्ट-कर्ममै लागेर म ल्हासा, तिब्बत तथा चीनको सिचुवान प्रान्तसम्म पुगें । त्यहाँको रेष्टुरेन्ट, होटलहरुमा काम गरें । चिनियाँ खानपान र शैलीलाई नजिकबाट अवलोकन गर्ने मौका पाएँ ।चीन हाम्रो उत्तरी छिमेकी । चीनसँग सीमा जोडिए पनि त्यहाँको चालचलन र हाम्रो चालचलन निकै भिन्न छ । खासगरी खानपान शैली निकै भिन्न छ ।
चिनियाँ खानपान
चिनियाँहरु खानपानमा समृद्ध छन् । उनीहरुको मेनुमा सैयौंथरी खानेकुरा छन् । नयाँ-नयाँ लाग्ने खानेकुराहरु उनीहरुले पहिचान गरेका छन् । खानेशैली पनि उन्नत छ, हामीसँग तुलना गर्दा ।
म सिचुवान प्रान्तको एक रेष्टुरेन्टमा सहायक सेफको रुपमा काम गर्थें । त्यसबेला मैलें चिनियाँ खानपान शैलीलाई प्रत्यक्ष अवलोकन गर्न पाएँ । त्यहाँको मौसम एवं हावापानी हाम्रो नेपालसँग लगभग मिल्थ्यो ।
त्यहाँको खानपान चाहि धेरैजसो झोलिलो हुन्थ्यो । थुक्पा जस्ता नुडल्स खाने । भनौं न, धेरैजसो झोलयुक्त खानेकुरा नै हुने । उनीहरुको खाना उसिनेको वा उमालेको हुन्थ्यो । संभवत त्यस्तै खानेकुरा सेवन गरेकाले उनीहरु धेरै काममा खटिन सकेका होलान् ।
चिनियाँहरु काममा अति लगाव राख्ने । खटिने । मैलें पनि काम भनेको के हो भन्ने कुरा त्यही पुगेपछि अनुभूत गरें । हुन त मेरो लागि त्यो दुखको पहाड थियो । न सुत्ने ठेगान, न उठ्ने । जुनसुकै बेला कामका लागि तयार हुनुपर्ने । जे काम पनि गर्नुपर्ने । अल्छी गरेर नहुने ।
मान्छेलाई कामले धेरै कुरा सिकाउँछ । हामी कामलाई दुख भन्छौं । काम दुख होइन । काम भनेको काम नै हो । श्रम हो । जब मानिसले सही श्रम गर्छ, तब उसले धेरै कुरा सिक्छ । मैलें त्यहाँ यतिसम्म गरें कि, त्यो भन्दा अरु दुख सायदै भोगिएला । तर, मैलें कामलाई दुख मानिन । बरु त्यसबाट कसरी सिक्ने भन्ने कुराले मनलाई सम्हाल्दै अगाडि बढें ।
काम अनुसारको माम
जति काम गरिन्छ, त्यही अनुसार शरीरलाई खानेकुराको आवश्यक्ता हुन्छ । सायद त्यही भएर उनीहरु पोषिलो खानेकुरा खान्थे । खाने कुनै समय नहुने । जतिबेला पनि खाइरहने ।
बिहानै पानी पिउने । ठाउँ-ठाउँमा उसिनेको अण्डा पाइन्छ, त्यही खाने । विहान ब्रेकफास्टको रुपमा झोलिलो खानेकुरा खाने । तात्तातो खानेकुरा खाने । यस्ता खानेकुराले शरीरलाई उर्जावान् बनाइराख्न सहयोग गर्छ ।
किसानहरुको खान्की भने अलि बेग्लै हुँदोरहेछ । किसानहरुसँग पटक-पटक खाइरहने समय नहुने । त्यही भएर उनीहरु अडिलो खानेकुरा खान्छन् । एक पटक भरपेट खाएपछि लामो समय काम गर्न सकिन्छ । खेतबारीमा काम गर्नेहरुको खान्की त्यही अनुसार हुन्थ्यो ।
ठाउँ अनुसारको खान्की
सिचुवान सस अर्थात टिमुरको सस त्यहाँको खानेकुरामा अनिवार्य हुने । स्थानिय भूगोल अनुसार त्यस्ता रैथाने खानेकुरा स्वादिलो मात्र होइन, स्वस्थ्यकर पनि हुन्छ । खासमा भन्ने हो भने, प्रकृतिले हामीलाई जस्तो खानेकुरा दिएको छ, त्यस्तै खानुपर्छ ।
उच्च लेकाली भेगमा फापर फल्छ । त्यहाँ बस्नेका लागि फापरको साग, फापरको ढिंडो नै उपयुक्त खानेकुरा हो । उनीहरुले पालुङ्गो खोजेर हुँदैन ।
हामीले दुख पाउने भनेको स्थानिय वा रैथाने खानेकुराको महत्व नबुझेर पनि हो रहेछ । प्रकृतिले हामीलाई भूगोल अनुसारको खानेकुरा दिएको छ । हिमाली क्षेत्रमा बस्नेका लागि त्यही किसिमका खानेकुरा उत्पादन हुन्छन्, जसले जाडोसँग लड्न सक्छ । गर्मी भेगमा त्यस्तै खानेकुरा उत्पादन हुन्छ, जसले शरीरलाई सितलता गराउँछ । त्यसैले हामीले रैथाने खानेकुरामा जोड दिनुपर्छ ।
चिनियाँहरुले रैथाने खानेकुरालाईं बढी महत्व दिएको मैलें पाएँ । साथै उनीहरु खानेकुराको सफाईमा विशेष सर्तक छन् ।
चियाका पारखी
चीनमा मैलें देखेको अर्को राम्रो संस्कार भनेको, पानी वा चिया पिउने पनि हो । विहान ब्रेकफास्टसँगै उनीहरु चिया पिउँछन् । चिया भनेको हाम्रो जस्तो दुध र चिनी मिसाइएको होइन । चिया, हरियो पत्तीबाट बनेको शुद्ध चिया मात्र । खासगरी जस्मिन वा ग्रीन टि पिउँछन् ।
दिनभर उनीहरु चिया पिइरहन्छन् । अक्सर के देखिन्छ भने, बाटोमा हिँड्दा उनीहरु सानो थर्मस जस्तो बोक्छन् । त्यसमा चिया हुन्छ । बेला-बेला चिया पिइरहन्छन् । उनीहरुले सबैभन्दा बढी पिउने पेय चिया नै हो । खानेकुरा जति खान्छन्, त्यो भन्दा बढी चिया पिउँछन् । चिया पिउने संस्कार धेरै पुरानो हो । चिया पिउने भएकाले उनीहरु बढी जवान र तन्दुरुस्त भएका होलान् भन्ने लाग्छ ।
हामी खानै नजान्ने
हाम्रो खानपान संस्कार त्यती राम्रो छैन । बिहान टम्म भात खान्छौं । भात भनेको चामल, दाल, तरकारी, अचार । राती पनि त्यही खान्छौं । मौका परे दिउँसोको खाजा पनि भात नै खान्छौं ।
भात वा चामल खानु नराम्रो होइन । तर, एकैनासको खानेकुराले शरीरलाई आवश्यक भिन्न भिन्नै पोषण अपूर्ति गर्दैन । दिनभरको खानेकुरामा सकेसम्म बेग्ला बेग्लै खानेकुरा सामेल गर्नुपर्छ ।
धेरै नेपालीले ब्रेकफास्ट वा विहानको नास्ता खाँदैनन् । बिहानको नास्ता नखाई दुधको चिया पिउने । लामो समयको ग्यापमा खानेकुरा खाने । खानेकुरा खाँदा पेट अटसमटस हुनेगरी खाने । यस्ता बानीले हामीलाई ग्याष्ट्रिकको रोगी बनाएको छ ।
हामी पानी पिउन अल्छी गर्छौं । शुद्ध चिया पिउने बानी छैन । यस्ता कारणले पनि हामीलाई कब्जियत, ग्याष्ट्रिक जस्ता समस्या थपिरहेको छ । यदी खानपानको सही शैली एवं विधी अपनाउने हो भने, धेरै किसिमको रोगबाट मुक्त हुन सकिन्छ । निरोगी जीवन विताउन सकिन्छ ।
Comments