Sajhamanch Archive

ज्यामिरगढीमा सशस्त्र प्रहरीकोे वोडर आउट पोस्ट स्थापना

Published: in राष्ट्रिय समाचार, स्थानीय तह by .

मेचीनगर । सीमामा सुरक्षा तैनाथी बलियो बनाउँदै लगेको सशस्त्र प्रहरी बलले बिहीवार ज्यामिरगढीको कालिकाझारमा बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरेको छ ।

बीओपीका लागि नगरपालिकाले जग्गा खोज्ने प्रक्रिया चलिरहेको छ । तर जग्गाको प्रक्रिया पूरा गर्न निकै समय लाग्ने भएकोले सीमा सुरक्षाको आवश्यकतालाई दृष्टिगत गरी हाललाई सुरक्षा चौकीको स्थापनालाई प्राथमिकता दिइएको सशस्त्र प्रहरी वलको प्रदेश मुख्यालय पकलीका डीआइजी बंशीधर दाहालले बताए ।

झापाको मेचीनगर नगरपालिका वडा नं.१५ स्थित कालिकाझारमा रहेको वैभव चिया बगानको पुरानो गोदामघरमा बीओपी राखिएको छ ।

चिया बगानका सञ्चालक प्रदीप मित्तलले हाललाई सो भवन बीओपीका लागि दिएका हुन् । भौतिक संरचना र जग्गा अस्थायी रुपमा भए तापनि दिएकोमा दाता परिवारलाई बीओपी उद्घाटन अवसरमा सम्मान गरिएको थियो ।

दशगजा क्षेत्रबाट एक किलोमिटर टाढै रहेको बीओपीको मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीले विधिवत् उद्घाटन गरेकी थिइन् । उनले सीमा सुरक्षा र सीमापार अपराध रोक्न सक्रिय सशस्त्र प्रहरीको बीओपीलाई स्थानीय सरकारको तर्फबाट आवश्यकता हेरी सहयोग गरिने आश्वासन दिएकी छन् ।

प्रदेशका सशस्त्र प्रहरी प्रमुख दाहालले सीमाको अभिलेख दुरुस्त राख्ने र अपराध नियन्त्रण गर्ने मुख्य दायित्व बोकेर बीओपीहरु सीमा क्षेत्रमा स्थापना भइरहेको बताए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिम्सिना, सशस्त्र प्रहरी वलको २ नं. गणका गणपति रमेश कुमार पाण्डे, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख कृष्ण कोइराला, मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनानाथ लम्साल, वडाध्यक्ष राजन भट्टराई वडा सदस्य कुसुम चौधरी, हरि दाहाल, वैभव चिया बगानका मेनेजर रिसव मित्तललगायतको उपस्थिति रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *