Sajhamanch Archive

‘१० बजेपछि फोन लागेन, बिहानसम्म प्रतिक्षा गर्‍याैँ तर, दुवैजना फर्किएनन्..’

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by .

धनगढी । शनिबार राति सीमा क्षेत्रमा गस्ती गएका, कैलालीको अस्थाई प्रहरी पोष्ट जुगडाका असई गोविन्द विकको तस्करले धारिलो हतियार प्रयोग गरेर हत्या गरेको खुलेको छ।

शनिबार रातिको खाना खएर धनगढी–१० को सीमा क्षेत्र (सव पिलस नं १६४ ए) को आसपास गस्तीमा गएका विकको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको हो।

नेपाल भारत सीमा भएर बग्ने मोहना नदीमा असई विकको प्रहरी पोसाकमै शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

उनीसँगै गएका प्रहरी जवान रामबहादुर साउद भने बेपत्ता छन्। जिल्ला प्रहरी कार्यालय कैलालीले, उनीहरु एकजना स्थानीको घरमा मोटरसाइकल राखेर सीमानाको नजिक पैदल गस्तीमा थिए।

‘प्रहरी जवान साउदको एउटा बुट हिलो लागेको अवस्थामा फेला परेको छ। ‘बुट फेला परेकाले उनको पनि हत्या हुनसक्ने अनुमान गरेका छौं, तर उनको केही पत्ता लागेको छैन’, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी प्रतिक विष्टले भने।

अस्थाई प्रहरी चौकी धनगढी उपमहानगरपालिकाको वडा नम्बर १२ जुगेडामा छ। त्यो चौकीमा ७ जनाको मात्रै जनशक्ति छ। असईको कमाण्डमा रहेको अस्थाई चौकीबाट पालैपालो प्रहरीले सीमा क्षेत्रमा नेपाल प्रवेश गर्ने र तस्करी नियन्त्रणमा खटिने गर्छ।

‘राति १० बजेपछि दुबै जनाको फोन लागेन। सीमा क्षेत्रमा राम्ररी फोन पनि काम नगर्ने भएकाले बिहानसम्म प्रतिक्षा गरियो तर दुबै जना फर्केनन, अनी बल्ल जिल्लामा जाहेर गरेका हौं’, सोही चौकीमा खटिएका एकजना प्रहरीले भने। बिहान डीआईजी, एसएसपी, जिल्ला र गणको टोली घटनास्थल गएर खोजी गरेपछि असई विकको शव मोहना नदीको बीचमा घाँटी रेटेको अवस्थामा फेला परेको हो।

स्थानीयले, प्रहरीको तस्करले हत्या गरेको हुनसक्ने अनुमान लगाएका छन्। जुगेडा क्षेत्र खुला सीमाना भएको क्षेत्र हो। राति त्यहाँ ठूलो परिमाणमा तस्करी हुने गरेको छ। असई विक तीन महिना अघि मात्रै त्यो अस्थाई चौकीमा खटिएका हुन्। उनले तीन महिनाको अवधिमा धेरै पटक तस्करीको सामान बरामद गरेर भन्सार बुझाई सकेका छन्।

‘गोविन्द इमान्दार प्रहरी थिए, त्यसैले उनको तस्करले हत्या गरेका हुनसक्छ’, अस्थाई प्रहरी चौकी आसपासका बासिन्दा देबदत्त भट्टले भने, ‘भर्खरका युवा थिए, जोसीला देखिन्थे, त्यो कुरा तस्करलाई मन नपरेकाले उनको हत्या भएको हुनसक्छ।’

स्थानीय जनप्रनितिधिले पनि असई विकको हत्या तस्करले नै गरेको अनुमान लगाएका छन्। ‘रातिको समयमा असई र एकजना जवानले खुला सीमानाको गस्ती गर्नुपर्ने अवस्था छ, यो बिडम्बना होइन ?’, धनगढी १२ का वडा अध्यक्ष गणेश जोशीले भने। उनले पटकपटक प्रमुख जिल्ला अधिकारी कहाँ सुरक्षा जनशक्ति थप्न आग्रह गरेको समेत बताए।

प्रहरीले, जुडेगा नाका भएर तस्करी गर्ने नाम चलेका ११ जना व्यक्तिलाई अनुसन्धानका लागि पक्राउ गरेको छ। सुदूरपश्चिम प्रदेश प्रहरीका प्रवक्ता एसएसपी मुकेश सिहले अनुसन्धानका लागि ११ जनालाई नियन्त्रणमा लिएको बताए। प्रहरीले, हत्या घटनाको अनुसन्धानमा कुकुरको पनि प्रयोग गरेको छ भने सीआईबी, सादा पोसाकका प्रहरी परिचालित गरेको छ।

स्रोत अन्नपूर्ण पोष्ट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *